जीतपुरमा डोजर चलाएका वडा अध्यक्ष गुप्ताको टोलीलाई अदालतको झड्का ! फैसला विरुद्ध पुनरावेदन गर्ने

वि.सं.२०८१ असार २९ शनिवार १३:४५

बारा–वैशाख १८ गते जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ स्थित राजुराज गिरिको घर अगाडि त्यहाँका वडा अध्यक्ष सुनिल गुप्ता नेतृत्वको टोलीले डोजर चलायो ।
श्री फकिरा गिरि राजेश्वर गिरि माध्यमिक विद्यालयको जमिन नापी गर्न वडा कार्यालयले बोलाएको अमिनमार्फत नापजाँच गरेर गिरीको घरको मुलगेटको सडक अतिक्रमण भई व्यक्तिले उपभोग गरेको निश्कर्ष निकालेर वडा अध्यक्ष गुप्ताले डोजर चलाएका थिए ।
घर प्रवेश गर्न नै असहज हुने गरि डोजर चलाईएको जमिनबारे गिरि परिवारको तर्क छ–२०३८ सालमा तत्कालिन प्रधानपञ्च र विद्यालय व्यवस्थापन समितिले स्कुलको पश्चिम तिर गिरि परिवारको जमिन लिएर हाल सडकको रुपमा प्रयोग हुँदै आएको स्कुलको जमिन बाटोकै लागि दिने सहमति भएको थियो ।
व्यक्ति वा विद्यालय जसको भएपनि बाटो नै बन्द गर्ने गरि किन डोजर चलाईयो भन्ने विषयमा प्रतिशोध साँधिएको राजुराज गिरीको बुझाई छ । स्थानीय तह निर्वाचनमा गुप्ता र गिरी प्रतिस्पर्धि थिए ।

तर वडा अध्यक्ष गुप्ताले खनिएको बाटो स्कुलको निजि जमिन भएको हुदा त्यहाँ कोठा बनाउनका लागि शिलान्यास गर्ने उदेश्यले खनिएको दाबी गर्छन् ।
आरोप र दाबी विच डोजर प्रकरण अदालत पुगेर गुप्ताको विपक्षमा फैसला आएको छ ।
वडाध्यक्ष गुप्तासहित ६ जनालाई कैद फैसला
जिल्ला अदालत बाराले जीतपुरसिमरा उपमहानगरपालिका– ७ का वडा अध्यक्ष सुनिल गुप्तासहित ६ जनालाई एक महिनाको कैद फैसला सुनाएको छ ।
न्यायाधीश तारादेवि महर्जनको इजलासले शुक्रबार आपराधिक उपद्रव मुद्दामा वडा अध्यक्ष गुप्तासहित ६ जनालाई एक महिना कैद र जनही एक हजार जरिवाना सुनाएको हो ।
वडा अध्यक्ष गुप्ताले राजुराज गिरीको घर अगाडि डोजरले खनेर क्षति पु¥याएका थिए । गिरी स्थानीय तह निर्वाचनमा गुप्ताका निकटतम प्रतिस्पर्धी थिए । गिरीको तर्फबाट वादी नेपाल सरकार रहेको मुद्दामा वडा अध्यक्ष गुप्ता, नगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मनोज गुप्ता, कानु भनिने सुनिल साह, वडा अध्यक्षका दाइ अनिल गुप्ता, सुरेश राउत अहिर भनिने सुरेश यादव र वडा कार्यालयमा कार्यरत रामजी साह रहेका छन् ।
मुलुकी अपराध संहिता, २०७४ को दफा २७५ (१) र (२) (ख) बमोजिमको कसुर गरेको ठहर बारा जिल्ला अदालतले फैसलामा सुनाएको छ ।
कैद फैसला विरुद्ध पुनरावेदन गर्ने
वडा अध्यक्ष गुप्ताले कैद फैसला विरुद्ध पुनरावेदन गर्ने बताएका छन् । फरक नेपालसँग टेलिफोनमा कुराकानी गर्दै गुप्ताले भने–नियम पुर्वक सार्वजनिक सम्पती संरक्षणका लागि काम गर्दा अदालतबाट यस्तो फैसला आयो, अब पुनरावेदन लागि उच्चदेखि सर्वोच्च अदालतसम्म जानेछु ।
गरिबका बालबालिका पढ्ने विद्यालयसँग कसैले खेलवाड गर्छ भने जेल जानुपर्ने अवस्था आएपनि तयार छौं तर, अतिक्रमित जमिन खाली गरेरै छाड्छौं । ममाथि षड्यन्त्र भएको हो । सार्वजनिक सम्पतिको संरक्षणको लागि काम गर्दा यस्तो अवस्था आउनु एउटा नजिर बनेको छ ।

वि.सं.२०८१ असार २९ शनिवार १३:४५