को हुन् प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे ?

249 shares

काठमाडौं-सत्तागठबन्धनबाट सभामुखमा उम्मेदवारी दिएका एमाले सांसद देवराज घिमिरे निर्वाचित भएका छन्।

सभामुख पदको निर्वाचनमा दुई सय ६८ सदस्य उपस्थित भएकामा घिमिरेको पक्षमा एक सय ६७ मत खसेकाे छ। घिमिरे गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा झापा २ बाट निर्वाचित भएका थिए।

ताप्लेजुङ जिल्ला सिरिजंघा गाउँपालिका– ३ मा बुबा पदमप्रसाद घिमिरे र आमा भीमकुमारी घिमिरेको कोखबाट १२ जना छोराछोरीमध्ये माइलो छोराको रूपमा ०१३ साल जेठ १३ गते देवराज घिमिरेको जन्म भएको थियो।

निम्नमध्मम परिवारमा जन्मिएका घिमिरेले गाउँकै श्री सिंहदेवी प्राथमिक विद्यालयबाट स्कुले शिक्षाको सुरुवात गरी ताप्लेजुङ सदरमुकामको भानु पब्लिक हाइस्कुलबाट ०२९ सालमा एसएलसी उत्तीर्ण गरेका थिए।

उनले धरानको महेन्द्र बहुमुखी क्याप्पसबाट आई.ए. र त्रिचन्द्र क्याम्पस काठमाडौंमा स्नातक अध्ययन पूरा गरेका छन्। ०३१ सालमा झापा विद्रोहपछि नेपाल कम्युनिस्ट पार्टीको सम्पर्कमा रहेका घिमिरे ०३२ माघदेखि अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी को–अर्डिनेसन कमिटी (कोके)गठनपछि विद्यार्थी संगठनमार्फत पार्टी काममा होमिएका थिए।