डम्बर हत्या प्रकरण : थप दुईजना पक्राउ
वि.सं.२०७८ माघ २२ शनिवार १७:०२

बैतडी : बैतडीको सुर्नया गाउँपालिका–६ का डम्मर अवस्थी हत्या प्रकरणमा प्रहरीले थप दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही ठाउँका रमाकान्त अवस्थी र गोपाल अवस्थी रहेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।
रमाकान्त र गोपाललाई डम्बरको परिवारले दिएको जाहेरीका आधारमा घरबाटै पक्राउ गरिएको हो ।
प्रहरी प्रवक्ता खड्काले भने, ‘पक्राउ परेका दुबैजनामाथि अदालतबाट म्याद थपेर थप अनुसन्धान सुरु गरेका छौँ ।’ उनीहरू दुबैजना गाउँका एक विद्यालयका शिक्षक समेत हुन् ।
यसअघि डम्मरको हत्यामा संलग्न हरिश अवस्थी र नवराज अवस्थी प्रहरी नियन्त्रणमा रहेका छन् । उनीहरू दुबैजनाले हत्यामा संलग्न रहेको स्वीकार गरिसकेकाले अदालतबाट म्याद थपेर अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
गत मंसिर १४ गते घरबाट हराएका डम्मरको शव घरनजिकैको जंगलमा पुस २८ गते फेला परेको थियो ।
उनको हत्या गरेर गुफामा शव गाडेको अवस्थामा फेला परेको थियो। हरिशले दिएको लोकेशनको आधारमा डम्बरको शव गाडेको अवस्थामा फेला गरेको हो ।
त्यसअघि हरिशले विप्लव कार्यकर्ताले अपहरण गरेको नाटक समेत गरेका थिए। मृतक डम्बर विप्लव कार्यकर्ता रहेका थिए ।
वि.सं.२०७८ माघ २२ शनिवार १७:०२

















