skip this farak Kura Pravakar

महाशिवरात्रिको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना सन्देश : सबैलाई प्रेरणा मिल्ने विश्वास

2.69K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्रि पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले मंगलबार शुभकामना सन्देश जारी गरी महाशिवरात्रि पर्वले नेपाली समाजलाई प्रगतिको बाटोमा अग्रसर गराउँदै सबै नेपालीको जीवनमा आध्यात्मिक जागरणको नयाँ उज्यालो छर्न सकोस् भनी शुभकामना व्यक्त गरिन् ।

“नेपाल भूमिसँग भगवान् शिवको सम्बन्ध विभिन्न वैदिक ग्रन्थमा वर्णन गरिएको पाइन्छ, शिवोत्पत्ति भएको विश्वास गरिने मानसखण्डको भू–भाग, शिवको विचरणस्थल मानिने हिमवत्खण्डको मुख्य भूगोल एवं निवासस्थल मानिने पवित्र पाशुपत क्षेत्र नेपालसँग रहनु हाम्रा लागि गौरवको विषय हो”, सन्देशमा भनिएको छ ।

मुलुकका धेरै समुदायभित्र विद्यमान सनातन संस्कृतिमा शिवसँग सम्बन्धित आस्था र विश्वास निरन्तर प्रतिबिम्बित भएको पाइएको उनको भनाइ छ । आराध्यदेव पशुपतिनाथ एवं किरातेश्वर महादेवलाई साक्षात्शिवस्वरूप मानेर आस्था राख्ने विश्वभरिका श्रद्धालुका लागि नेपाल सदैव आध्यात्मिक चिन्तनको केन्द्र रहिआएको सन्देशमा भनिएको छ ।

वैदिक परम्परामा शिवलाई मूलतः संहारका शक्ति मानिएको भए पनि शिवशक्तिमा सौम्य तथा रौद्र दुवै स्वरूप समाहित रहेको भन्दै प्रकृतिको सिर्जनात्मक एवं संहारकारी शक्तिलाई बराबर प्रतिनिधित्व गरेको भण्डारीले बताइन् ।

सौम्यशक्तिले मानव चेतनामा असल पक्षको बोध गराई त्यसलाई मात्र ग्रहण गर्न उत्प्रेरित गर्ने भएकाले नै ‘सत्यम् शिवम् सुन्दरम्’ प्राचीन लोकोक्तिका रूपमा रहेको राष्ट्रपति भण्डारीद्वारा जारी सन्देशमा भनिएको छ ।

धार्मिक एवं सांस्कृतिक पर्व सम्बद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले हिन्दू धर्मावलम्बीको महान् पर्व महाशिवरात्रीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सु–स्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।

प्रधानमन्त्री देउवाले शुभकामना सन्देशमार्फत महाशिवरात्री हिन्दूहरूको पर्व भए पनि नेपालमा सबै धार्मिक समुदायले श्रद्धापूर्वक मान्ने गरेको उल्लेख गर्दै नेपाल जातीय, भाषिक, धार्मिक एवं सांस्कृतिक विविधताले सम्पन्न मुलुक भएको बताए ।

उनले हरेक जातजातिका आआफ्ना रीतिरिवाज, चाडपर्व र संस्कृति भए पनि सबै जाति र धर्म मान्ने सम्प्रदायले यो विविधतालाई सम्मान गर्दै अपनत्व महसुस गर्नु नेपालीको मौलिक एवं विशिष्ट पहिचान भएको उल्लेख गरे।

नेपाली जनताको शान्ति, विकास र सुशासनप्रतिको चाहनालाई व्यवहारमै रूपान्तरण गर्ने प्रयासमा सरकार निरन्तर क्रियाशील रहेको तथा नेपाली धार्मिक एवं सांस्कृतिक पर्व र परम्परालाई संरक्षण एवं सम्बद्र्धनका लागि पसरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।

राष्ट्रिय एकता र संस्कृतिको पर्व महाशिवरात्रीले नेपालीबीच आपसी एकता, सद्भाव र भाइचारा अभिवृद्धिमा मद्दत पुर्याएका उनको भनाइ थियो ।

nijgadh-supermart-adz1200-630