डा.गोविन्द केसीको मागप्रति सरकार गम्भीर छ : स्वास्थ्य राज्यमन्त्री
वि.सं.२०७९ भदौ ३१ शुक्रवार २०:४८

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले चिकित्सा शिक्षाका अभियन्ता डा.गोविन्द केसीको मागप्रति सरकार गम्भीर रहेको बताएका छन् । अभियन्ता डा. केसीले उठाएका मागहरुका विषयमा गहन छलफल भइरहेको उनले बताए ।
स्वास्थ्य मन्त्रालयमा आयोजित छलफलमा उनले भने, ‘उहाँ(डा.केसी)को स्वास्थ्य अवस्था जटिल बन्दै गएको विषयप्रति मेरो ध्यानाकर्षण भएको छ । यो विषयलाई समाधान गर्न अन्तरमन्त्रालय समन्वय आवश्यक छ । हामीले यस विषयमा छलफल गरिरहेका छौं ।’
डा.केसी धनगढीमा अहिले अनसनरत छन् । तोकिएको क्षमताभन्दा बढी बेडमा चलिरहेका देशका सबै सरकारी अस्पतालको दरबन्दी तत्काल हालको बेड संख्याअनुसार बढाइनुपर्ने, जनसंख्याको वृद्धिअनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालको निर्माण, स्तरोन्नति र गुणस्तर वृद्धि सुनिश्चित गरिनुपर्ने माग राख्दै उनी अनसनरत छन् ।
वि.सं.२०७९ भदौ ३१ शुक्रवार २०:४८

















