skip this

हरायो अमेरिकी विदेश मन्त्रीलाई जापानले उपहार दिएको झन्डै सात लाख पर्ने ह्विस्कीको बोतल

1.44K shares
oil-nigam-amlekhgunj-adv.jpeg

अमेरिकी विदेश मन्त्रालयले अहिले एउटा खोजी गरिरहेको छ। विश्वको शक्तिशाली मुलुकको विदेश मन्त्रालयले कुनै कूटनीतिक र विदेश सम्बन्धको कागजात भने खोजेको होइन।
दुई वर्षअघि तत्कालीन विदेश मन्त्री माइक पोम्पेओलाई जापानले उपहार दिएको ५ हजार ८ सय डलर (६ लाख ८९ हजार पाँच सय रुपैयाँ) पर्ने ह्विस्कीको बोतल कहाँ छ भन्ने अहिले खोजी भइरहेको छ।
द न्युयोर्क टाइम्सका अनुसार विदेश मन्त्रालयले बुधबार सन् २०१९ मा विदेशबाट प्राप्त उच्च मूल्यका उपहारको सूची प्रकाशित गरेको थियो। उक्त सूचीमा ह्विस्कीको उक्त बोतलबारे भने खोजी भइरहेको उल्लेख गरिएको छ। डोनाल्ड ट्रम्प राष्ट्रपति हुँदा विदेश मन्त्री रहेका पोम्पेओले उक्त ह्विस्कीको बोतल लिए वा लिएनन् भन्ने एकिन हुन सकेको छैन। जापानी अधिकारीहरूले विदेश मन्त्रालयलाई उक्त उपहार दिएको दिन २४ जुन २०१९ मा पोम्पेओ साउदी अरबमा थिए।
कानुनअनुसार अमेरिकामा अधिकारीहरूले ३ सय ९० डलर मूल्य सम्मका उपहार स्वीकार गर्न सक्छन्। त्योभन्दा बढी मूल्यका उपहार लिनु पर्दा उनीहरूले अमेरिकी सरकारलाई त्यसको मूल्य तिर्नु पर्ने हुन्छ।
झन्डै ६ हजार डलर पर्ने उक्त ह्विस्कीको बोतल किन्न पोम्पेओले सरकारलाई पैसा तिरेको रेकर्ड देखिन्न। पोम्पेओले आफूलाई उक्त ह्विस्कीबारे थाहै नभएको बताएका छन्। आफ्ना वकिलमार्फत उनले उक्त ह्विस्कीको बोतल लिएको आफूलाई सम्झना नभएको र त्यो कहाँ गयो भन्नेबारे पनि थाहा नभएको बताएका छन्।
उक्त ह्विस्कीको बोतलबारे विदेश मन्त्रालयले अब कसरी अनुसन्धान गर्दैछ भन्नेबारे विस्तृत खुलाइएको छैन।

nijgadh-supermart-adz1200-630