skip this farak Kura Pravakar

बैंकिङ सेवालाई सर्वसुलभ र प्रभावकारी बनाउनुपर्छ : अर्थमन्त्री

ब्याजदर अझै घट्छ, स्थिति सहज हुँदै छ : बैंकर

1.11K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकिङ सेवालाई सुलभ बनाउनुपर्ने बताएका छन्। काठमाडौंको सोल्टी होटेलमा मंगलबार आयोजित ‘द नेसनल बैंकिङ डिस्कोर्स २०२३’को उद्घाटन गर्दै उनले वित्तीय पहुँच बढाउन तथा लगानीको लागत घटाउन बैंकिङ सेवालाई सुलभ बनाउनुपर्ने बताएका हुन्।

‘बैंकिङ क्षेत्रले आर्थिक रुपान्तरणमा ठूलो भूमिका खेलेको छ,’ उनले भने, ‘अझ पहुँच बढाउन, साना उद्यमीलाई ऋणमा पहुँच बढाउन तथा व्यावसायिक लागत घटाउन सेवालाई अझ सुलभ बनाउनुपर्छ।’ उनले बैंकिङ सेवालाई प्रभावकारी बनाउन आग्रह गर्दै साना उद्यमीलाई समेत ऋणमा पहुँच बढाउन आग्रह गरे।

अर्थमन्त्री डा. महतले मौद्रिक नीतिको समीक्षाबाट पोलिसी रेट घट्ने आफ्नो अपेक्षा भए पनि प्राविधिक कारणले त्यो पूरा नभएको बताए। ‘मौद्रिक नीतिले पोलिसी रेट घट्छ भन्ने आशा लागेको थियो, केही प्राविधिक कारणवश हुन सकेनछ,’ उनले भने, ‘बैंक रेट घटेको छ, अब छिट्टै पोलिसी रेट पनि घट्नेछ र त्यसको लाभ व्यवसायीले लिनेछन्।’

राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले नेपालको बैंकिङ क्षेत्र स्वस्थ रहेको बताए । उनले नेपालका बैंकिङ क्षेत्र विभिन्न चुनौतिमा समेत सफल रुपमा अवतरण हुने भएको बताए । विभिन्न आर्थिक मन्दि र कोरोनाको महामारीबाट रिकभर हुन धेरै समय नलागेको भन्दै यस्तो अवस्था अन्य मुलुकको तुलनामा नेपालमा छिटो भएको बताए ।

ब्याजदर अझै घट्छ, स्थिति सहज हुँदै छ : बैंकर

बैंक तथा वित्तीय संस्थाको ब्याजदर क्रमशः घट्दो अवस्थामा रहेको र अर्थतन्त्र सहज अवस्थामा जान थालेको बैंकरहरूले बताएका छन्। काठमाडौंको सोल्टी होटेलमा मंगलबार आयोजित ‘द नेसनल बैंकिङ डिस्कोर्स २०२३’मा सहभागी बैंकरहरूले अर्थतन्त्रमा चुनौती अझै कायम रहे पनि सहजताउन्मुख भएको बताएका हुन् ।

नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष सुनील केसीले पछिल्लो समय धेरै सुधारका संकेत देखिएको बताए। ‘मौद्रिक नीतिको समीक्षाले पनि केही सहजता ल्याएको छ, ब्याजदर बिस्तारै घट्दै गएको छ। १३ प्रतिशतमाथि पुगेको ब्याजदर १२.८ प्रतिशतमा आइसकेको छ। अझै घट्ने छ,’ उनले भने, ‘आगामी दिनहरू निकै नै आशावादी हुने देखेका छौँ।’ उनले नेपालको बैंकिङ क्षेत्र चुनौतीका बीच अघि बढ्न तयार रहेको बताए।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत तथा बैंकर्स एसोसिएसनका पूर्वअध्यक्ष ज्ञानेन्द्र ढुंगानाले वित्तीय पहुँचमा धेरै ठूलो विकास भएको दाबी गरे। उनले देशको धेरै कुनाकाप्चामा वाणिज्य बैंकहरू नै पुगिसकेको बताए। तर, वित्तीय साक्षरता भने बढाउन आवश्यक रहेको उनको भनाइ छ। ‘वित्तीय पहुँच छ तर सचेतना, साक्षरता छैन,’ उनले भने, ‘पहुँचसँगै साक्षरतासमेत बढाउनुपर्छ ।’ अहिले बाह्य क्षेत्र केही सहज भएको उनले बताए।

‘चिर्दै अभूतपूर्व समस्याका चुनौतीहरू’ भन्ने नाराका साथ आयोजित बृहत् आर्थिक संवाद कार्यक्रम ‘द नेसनल बैंकिङ डिस्कोर्स २०२३’मा वर्तमान आर्थिक परिदृश्यमा बजेटसँगको अपेक्षा, वित्तीय सेवा र इकोसिस्टमको डिजिटलाइजेसन, रेमिट्यान्सले धानेको अर्थन्त्रको प्राण र यसको भविष्य, दिगो अनि समावेशी विकासका लागि अहम् वित्तीय साक्षरताको अपरिहार्यता र स्थितिलगायतका विषयमा छलफल भएको थियो ।

बैंकिङ समाचारले आयोजना गरेको कार्यक्रमलाई नबिल बैंकले प्रायोजन गरेको थियो । बैंकिङ समाचार डट कमका अध्यक्ष राजु ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पूर्व मिस नेपाल नेग्मा श्रेष्ठ र धन्यवाद ज्ञापन सम्पादक मनोज रेग्मीले गरेका थिए ।

nijgadh-supermart-adz1200-630