दुधौरा खोला अवैध दोहन : रातीराती उत्खनन्, जंगलभित्र घाटगद्धी
एक्सनमा उत्रियो जीतपुरसिमराको राजश्व शाखा
वि.सं.२०८० भदौ ८ शुक्रवार ०७:३८

बारा–जीतपुरसिमरा उपमहानगरपालिकाको राजश्व शाखाले दुधौरा खोलामा अवैध रुपले नदीजन्य पदार्थ उत्खनन् निरन्तर भईरहेको फेला परेको छ ।
उत्खनन् गर्ने समुहले खोलानजिकैको जंगलमा बालुवा, ढुंगाजस्ता नदीजन्य पदार्थ घाटगद्धी गर्ने गरेको समेत फेला परेको छ ।
आन्तरिक स्रोतको महत्वपूर्ण क्षेत्रमा चुहावट भएपछि अवैध उत्खनन्को विषयमा टोलीले अप्रेशन चलाएको थियो ।
जंगलमा नदीजन्य पदार्थ थुपारेर राखेको सूचना पाएपछि उपमहानगरपालिकाका राजश्व शाखाका प्रमुख रमेश सुवेदीको नेतृत्वको टोली जंगल पुगेको थियो ।
घाटगद्धी जफत
उपमहानगरपालिकाले जंगलभित्र घाटगद्धी गरिएको नदीजन्य पदार्थ जफत गरेको छ । घाटगद्धी गरिएको बालुवा र ढुंगा उठाएर सिमरा ल्याएको हो ।
अवैध ढंगले खोला उत्खनन् गरेर जंगलमा थुपारेको भेटिएपछि नदीजन्य पदार्थ जफत गरेर वडा नं. २ को कार्यालय अगाडी राखिएको अधिकृत सुवेदीले जानकारी दिए ।
उनले खोलामा भएको अवैध उत्खनन्को विषयमा छानविन भईरहेको र संलग्न व्यक्तिको पहिचान भएमा कारवाही प्रक्रिया अघि बढ्ने बताए ।
उपमहानगरपालिकाको कार्यालयबाट ठेक्का स्विकृत नभएसम्म खोलाबाट नदीजन्य पदार्थ उत्खनन् गर्न नपाइने भएपनि अवैधरुपमा हुने उत्खनन् रोकिएको छैन् । केही दिन अघि मात्रै जीतपुरसिमरा ४ र १४ लाई जोड्ने दुधौरा खोलामा संचालित बालुवा प्रशोधन केन्द्रबाट अवैधरुपमा उत्खनन् गरी थुपारिएको बालुवा जफत गरिएको थियो ।
अवैध उत्खनन् पूर्णरुपमा नियन्त्रणमा ल्याउने गरी उपमहानगरपालिका अघि बढ्ने सुवेदीले बताए ।
वि.सं.२०८० भदौ ८ शुक्रवार ०७:३८


















