skip this farak Kura Pravakar

लघुकथा : मिशाल 

1.67K shares
oil-nigam-amlekhgunj-adv.jpeg

अक्रम र धरम नामका दुई व्यक्ति नेपालगन्जको एउटा गल्लीमा बस्थे । उनीहरू दुवै तेश्रो पुस्ताका सन्तान थिए । दुवैले बाल्यकाल र किशोरावस्था सँगै बिताएका थिए । दुई भिन्न समुदायका भए पनि व्यवहार र सम्बन्धमा रत्तिभर फरक थिएन । 

अक्रमका छोराछोरी दीपावली र दशहरामा धरमका घर जाने र रमाइलो गर्ने गर्दथे भने धरमका छोराछोरी मुहरम र बकरिदमा अक्रमका घर भोज खान जान्थे । अक्रमको गल्लीमा पुस्तैनी मासु पसल थियो भने धरमको हलुवाई पसल । अक्रम र धरमको मित्रता पूरै नेपालगन्ज बजारमा धार्मिक सहिष्णुताको मिशाल बनेको थियो ।

एकदिन अचानक हिन्दु मुस्लिमबीचको सद्भाव बिथोल्न कसैको षड्यन्त्र सफल भयो । दुवै समुदायको उग्र प्रदर्शनले शहरका बौद्धिक समुदायलाई चिन्तित पार्‍यो । तेश्रो दिन दुवै समुदायका उग्र युवाहरू हातमा भाटा बोकेर गल्लीमा छिरेको सन्देश पाएपछि अक्रम र धरमपनि गल्लीमा निस्किए । 

दुवै आआफ्नो समुदायको हूलमा मिसिए । एकअर्काबीच चर्को नाराबाजी सँगै भिडन्त हुने अवस्था आएपछि अक्रम र धरम स्वतःस्फूर्त अगाडि बढे अनि दुवैले एकार्कालाई अँगालो हाले । यो देखि भीड एकाएक असमन्जसमा पर्यो र गल्लीबाट फर्कियो । साँझ रेडियोमा अक्रम र धरमबीचको मित्रताको रेडियो रिपोर्टसँगै शहर आफ्नो सामान्य अवस्थामा फर्किएको खबर प्रसारण भयो । 

 -हेटौंडा, मकवानपुर

(निजगढसमाचार साप्ताहिकमा प्रकाशित)

 

 

nijgadh-supermart-adz1200-630