नेपाल टेलिकमद्वारा इप्रका निजगढमा मोबाइल चार्जिङ स्टेसन जडान, अब प्रहरीदेखि सर्वसाधारणलाई सहज
वि.सं.२०८२ जेठ १७ शनिवार ०९:१५

बारा-इलाका प्रहरी कार्यालय निजगढमा अबदेखि मोबाइल चार्ज गर्न सहज हुने भएको छ ।
इलाका प्रहरी कार्यालय निजगढको समन्वयमा तथा नेपाल टेलिकम निजगढ शाखाको सहयोगमा नागरिक सहायता प्रतीक्षालयभित्र सो चार्जिङ स्टेसन जडान गरि सञ्चालनमा आएको छ ।
यस चार्जिङ स्टेसनबाट कार्यालयमा सेवा लिन आउने सर्वसाधारण सेवाग्राहीहरू तथा प्रहरी कार्यालयमा कार्यरत सुरक्षाकर्मीहरूले सजिलै आफ्नो मोबाइल उपकरणहरू चार्ज गर्न सक्नेछन् ।
उक्त कार्यक्रमले नागरिक–प्रहरी सम्बन्ध सुदृढ गर्दै प्रविधिको माध्यमबाट सेवा प्रवाहलाई अझ सहज, सरल र प्रभावकारी बनाउने विश्वास गरिएको छ। प्रहरीको नागरिकप्रति उत्तरदायी सेवा भाव तथा सहजीकरणप्रतिको प्रतिबद्धताको रूपमा समेत यो कार्यलाई हेरिएको छ।
चार्जिङ स्टेसनको उद्घाटन कार्यक्रममा इलाका प्रहरी कार्यालयका प्रमुख जीवन लामिछाने, नेपाल टेलिकम निजगढ शाखाका प्रमुख सुरेन्द्र नारायण दास, प्राविधिक अर्जुन चाैधरी लगायतका उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै इलाका प्रहरी कार्यालयका प्रमुखले भने, “नागरिकका आवश्यकतालाई मध्यनजर गर्दै कार्यालयमा आउने व्यक्तिहरूलाई सहजता प्रदान गर्न यो सुविधा सुरु गरिएको हो । अब सेवाग्राहीहरू लामो समय कुराइमा बस्दा मोबाइल चार्जको चिन्ता गर्नु नपर्नेछ ।”
नेपाल टेलिकम निजगढ शाखा प्रमुख दासले प्रहरीसँग सहकार्य गर्दै आगामी दिनमा अन्य प्रविधिमैत्री सेवाहरू थप गर्ने प्रतिबद्धता जनाए ।
वि.सं.२०८२ जेठ १७ शनिवार ०९:१५
















