सिंगौलमा श्री सप्तरेखी महिला पशुपालन सहकारी संस्थाद्वारा निशुल्क स्वास्थ्य शिविर सञ्चालन
वि.सं.२०८२ जेठ २४ शनिवार १५:१३

निजगढ– बाराको निजगढ–८ शहीदचोकस्थित श्री सप्तरेखी महिला पशुपालन सहकारी संस्थाको आयोजनामा सिंगौलमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।
संस्थाको आयोजनामा निजगढ–१ नमुनाबस्तीस्थित श्री शिक्षाशक्ति आधारभूत विद्यालयमा एकदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
शिविरको वडा नं. १ का वडा अध्यक्ष मङ्गल लोप्चनले उद्घाटन गरेका थिए । समारोहमा उद्घाटन कार्यपालिका सदस्य फुलमाया लामा, सिटी हस्पिटलका सञ्चालक सञ्जीव यादव, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सञ्जीव लोप्चन, विद्यालयकी प्रधानाध्यापक धनकुमारी सिग्देलको उपस्थित रहेको थियो ।
त्यसैगरी समाजसेवी तथा संस्थाका उपाध्यक्ष महेशी कुमर, सदस्य खड्गप्रसाद उप्रेती, समाजसेवी नवराज तिमल्सिनाको समेत उपस्थिति रहेको थियो ।
संस्थाकी अध्यक्ष सावित्रीदेवी भारतीको सभाध्यक्षतामा भएको शिविरको उद्घाटन समारोहको सञ्चालन संस्थाका कोषाध्यक्ष वासुदेव तिमल्सिनाले गरेका थिए ।
शिविरमा अस्पताल सञ्चालक यादवसहित निजगढ आँखा अस्पतालका सञ्चालक दिलीप कुमार यादव तथा डेन्टिस्ट डा. दिनेश पटेलको सक्रिय सहभागिता रहेको थियो ।
शिविरमा सहभागीहरूले ओपिटी जाँच, आँखाको जाँच र दाँतको जाँच गर्नुका साथै आवश्यक औषधिहरू समेत निःशुल्क वितरण गरिएको थियो ।
विद्यार्थीहरूलाई स्वास्थ्यप्रति सचेत बनाउने उद्देश्यले विद्यालयका भाइबहिनीहरूलाई ब्रस, साबुन तथा टुथपेस्ट वितरण गरिएको आयोजकले जनाएको छ ।
वि.सं.२०८२ जेठ २४ शनिवार १५:१३
















