लम्फी स्किन रोग फैलिँदै : निजगढमा पशुपालकलाई सतर्कता, खोप अनिवार्य
वि.सं.२०८२ साउन १३ मंगलवार ११:३०

बारा-देशका विभिन्न जिल्लामा गाईमा लाग्ने लम्फी स्किन रोग महामारीको रूपमा फैलिँदै गएपछि निजगढ नगरपालिकाले पुनः सचेतनामूलक सूचना जारी गर्दै पशुपालकलाई विशेष सतर्कता अपनाउन र समयमै खोप लगाउन आग्रह गरेको छ ।
नगर कार्यपालिकाको पशु सेवा शाखाले जानकारी दिँदै Capripox Virus मार्फत सर्ने यो रोग मुख्यतः गाई तथा बाच्छाबाच्छीमा देखिने भएकाले जोखिम न्यूनिकरणका उपाय तत्काल अपनाउनुपर्ने उल्लेख गरेको छ ।
संक्रमित पशुसँग सम्पर्कमा आएका किटपत्तङ्ग, लामखुट्टे र झिँगा जस्ता वाह्य परजीविहरुबाट पनि रोग सर्ने भएकाले विशेष सावधानी आवश्यक रहेको सूचनामा उल्लेख छ ।
खोप अनिवार्य र नयाँ पशु खरिदमा मापदण्ड
नगरपालिकाले निजगढ क्षेत्रमा अन्यत्रबाट गाई भित्र्याउँदा लम्फी स्किन रोगका लक्षण नदेखिएका र अनिवार्य रूपमा खोप लगाइएका पशु मात्रै ल्याउन निर्देशन दिएको छ । साथै रोगलाई नियन्त्रणमा राख्न सबै पशुपालकले खोप समयमै लगाउनुपर्नेमा जोड दिइएको छ ।
रोगका लक्षण
उच्च ज्वरो आउनु
छालामा गाँठागुठी देखापर्नु
दुध उत्पादनमा कमी आउनु
पशु दुब्लाउनु र गर्भपात हुनु
रोग गम्भीर भएपछि मृत्यु हुनेसमेत खतरा
सूचना सबै वडा कार्यालयमार्फत कृषकसम्म पुर्याउन आग्रह गर्दै पशु सेवा शाखाले यसलाई प्राथमिकताका साथ लागू गर्न आग्रह गरेको पशु विकास अधिकृत युगल किशोर सिंहले बताए ।
वि.सं.२०८२ साउन १३ मंगलवार ११:३०

















