श्री बकैया ठाकुर सामुदायिक वन उपभोक्ता समूह निजगढ–९ को आठौँ साधारण सभा सम्पन्न (भिडियो)
वि.सं.२०८२ पुस १२ शनिवार २१:४७

बारा-बाराको निजगढ नगरपालिका–९ स्थित श्री बकैया ठाकुर सामुदायिक वन उपभोक्ता समूहको आठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
निजगढ–९ को ठाडोलाइनस्थित वाक्यश्वर महादेव मन्दिर परिसरमा सामुदायिक वनका उपभोक्ताहरूको उल्लेखनीय उपस्थितिमा साधारण सभा सम्पन्न भएको हो ।
साधारण सभाको सामुदायिक वन उपभोक्ता महासंघ बारा जिल्लाका अध्यक्ष रामजी बजगाईँले गमलामा जलसेचन गरेर उद्घाटन गरेका थिए ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बजगाईँले तीन महिना अघि गठन भएको नयाँ कार्यसमितिले संघर्ष गरेर वन समुहको कार्ययोजना स्विकृत गराउन सफल भएको बताए ।
त्यस्तै निजगढ नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष रामचन्द्र कटुवालले उपभोक्ताले काठ नपाउने तर वन क्षेत्रमा काठहरु कुहिँएर गईरहेको भन्दै बेलैमा कटानमुछान गर्न आग्रह गरे ।
निजगढ सब–डिभिजन वन कार्यालयकी प्रमुख वन अधिकृत शर्मिला नेपालले वनलाई नयाँ कार्यदिशातर्फ अगाडी बढाउन कार्यसमितिसँगै उपभोक्ताले पनि सक्रियता देखाउन आवश्यक रहेकोमा जोड दिईन् ।
साधारण सभामा आर्थिक प्रतिवेदन कोषाध्यक्ष रमा न्यौपानेले प्रस्तुत गरेकी थिइन् भने वार्षिक कार्ययोजना प्रतिवेदन अध्यक्ष शान्ति पहरीले प्रस्तुत गरिन् । प्रस्तुत प्रतिवेदनहरूमाथि छलफल गर्दै साधारण सभाले आवश्यक निर्णयहरू समेत पारित गरेको छ ।
वन समूहकी अध्यक्ष शान्ति पहरीको अध्यक्षतामा भएको साधारण सभाको सञ्चालन सचिव शारदा फकामी र स्वागत मन्तव्य कोषाध्यक्ष रमा न्यौपानेले व्यक्त गरेकी थिइन् ।
कार्यक्रम सामुदायिक वनको संरक्षण र व्यवस्थापनमा उपभोक्ताहरूको सक्रिय सहभागिता अझ सुदृढ बनाउने प्रतिबद्धतासहित सम्पन्न भएको जनाइएको छ ।
वि.सं.२०८२ पुस १२ शनिवार २१:४७

















