skip this

केपी शर्मा ओली नेतृत्वमै पार्टी समस्या समाधान गर्नुपर्ने आवाज एमाले सचिवालयमा

324 shares
oil-nigam-amlekhgunj-adv.jpeg

केपी शर्मा ओली नेतृत्वको भूमिकामै पार्टीभित्र देखिएका चुनौती समाधान गर्नुपर्ने आवाज एमाले सचिवालय बैठकमा उठेको छ। भक्तपुरको गुण्डुमा जारी बैठकमा अधिकांश नेताहरूले वर्तमान परिस्थितिमा नेतृत्व परिवर्तनभन्दा पनि पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्ने धारणा राखेका हुन्।

उपमहासचिव लेखराज भट्ट का अनुसार बाहिर चर्चामा आएजस्तो अध्यक्ष परिवर्तन वा राजीनामाको विषय बैठकको मुख्य एजेन्डा बनेको छैन। उनले बैठकमा सहभागी नेताहरूले पार्टीभित्र देखिएका कमजोरी र असन्तुष्टिलाई अध्यक्ष ओलीकै नेतृत्वमा समाधान गर्नुपर्ने सुझाव दिएको बताए।

भट्टका अनुसार अध्यक्ष ओलीले बैठकमा नेताहरूलाई खुलेर आफ्नो धारणा राख्न आग्रह गरेका थिए। उनले पार्टीलाई थप व्यवस्थित, अनुशासित र एकताबद्ध बनाउँदै अहिले देशमा देखिएको राजनीतिक तथा सामाजिक चुनौतीको सामना गर्नुपर्ने आवश्यकता औंल्याएका थिए। साथै कार्यकर्तामा देखिएको निराशा र असन्तुष्टिलाई पनि सम्बोधन गर्नुपर्नेमा जोड दिएका थिए।

शनिबारको बैठकमा महासचिव, उपमहासचिव तथा सचिवहरूले आफ्नो धारणा राखेका छन् भने बाँकी सदस्यहरूले आइतबार बोल्ने कार्यक्रम रहेको बताइएको छ। त्यसपछि सचिवालय बैठकले औपचारिक निष्कर्ष सार्वजनिक गर्ने तयारी गरेको एमाले स्रोतले जनाएको छ।

nijgadh-supermart-adz1200-630