विवादपछि गृहमन्त्रीमा गुरुङको कमब्याक, आजै शपथ
वि.सं.२०८३ जेठ २६ मंगलवार १२:१०

सुधन गुरुङ पुनः गृहमन्त्री नियुक्त भएका छन्। उनको पद तथा गोपनीयताको शपथ आज दिउँसो ३ बजे राष्ट्रपतिको कार्यालय शीतलनिवासमा हुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
व्यापारी दीपक भट्टसँग व्यापारिक साझेदारी रहेको विषय सार्वजनिक भएपछि गुरुङ विवादमा तानिएका थिए। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको थुनामा रहेका भट्टसँग सम्बन्धित लिबर्टी माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्सको सेयर खरिद गरेको विषयमा प्रश्न उठेपछि उनीमाथि राजनीतिक तथा सार्वजनिक दबाब बढेको थियो।
सेयर खरिदमा प्रयोग गरिएको रकमको स्रोतबारे प्रश्न उठेपछि गुरुङले सापटी लिएर करिब ५० लाख रुपैयाँ बराबरको सेयर खरिद गरेको दाबी गरेका थिए। चौतर्फी आलोचनापछि उनले वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। उनी जम्मा २६ दिन मात्र गृहमन्त्रीको जिम्मेवारीमा रहेका थिए।
यस विषयमा अनुसन्धान गर्न मन्त्रिपरिषद्को वैशाख २८ गतेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य थिए।
समितिलाई गुरुङसँग सम्बन्धित सार्वजनिक रूपमा उठेका विषयहरूको सत्यतथ्य अध्ययन तथा छानबिन गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको थियो। पछि समय अपुग भएपछि समितिको म्याद थप पाँच दिन बढाइएको थियो।
छानबिन समितिले अध्ययनपछि गुरुङविरुद्ध लगाइएका आरोप पुष्टि हुने पर्याप्त आधार नभेटिएको निष्कर्ष निकालेको थियो। समितिले गुरुङका सेयर लगानी तथा चल-अचल सम्पत्तिको अध्ययन गर्दा उनीमाथिका आरोप प्रमाणित हुन नसकेको जनाएको छ।
समितिले बुझाएको ४५ पृष्ठ लामो प्रतिवेदनमा गुरुङका चल-अचल सम्पत्तिलाई वैध ठहर गरिएको छ। साथै, सम्पत्ति विवरणमा देखिएका त्रुटिहरूलाई व्यक्तिगत कमजोरीभन्दा पनि राज्यको अभिलेख तथा व्यवस्थापन प्रणालीको कमजोरीका रूपमा व्याख्या गरिएको छ।
समितिको प्रतिवेदनपछि सरकारले गुरुङलाई पुनः गृहमन्त्रीमा नियुक्त गरेको हो।
वि.सं.२०८३ जेठ २६ मंगलवार १२:१०

















