३४ वर्षको सेवा यात्राको अन्तिम नमन : विद्यालय छाड्दै गर्दा प्रधानाध्यापक मधुसुधन अधिकारी भावुक
वि.सं.२०८३ साउन २९ शुक्रवार २१:५६

निजगढ-३४ वर्षसम्म ज्ञानको ज्योति बाँडेको विद्यालयबाट बिदा हुने क्षण सायद कुनै शिक्षकका लागि सहज हुँदैन। श्री जनकल्याण आधारभूत विद्यालय, निजगढ–४ का प्रधानाध्यापक मधुसुधन अधिकारीका लागि पनि शुक्रबारको दिन त्यस्तै भावुक बन्यो ।
६० वर्ष उमेर पूरा गरी अनिवार्य अवकाशमा जान लागेका अधिकारीले विद्यालयमा आफ्नो अन्तिम हाजिरी गरे। त्यसपछि उनले आफूले वर्षौँ बिताएको विद्यालय परिसरलाई श्रद्धापूर्वक निहुरिएर ढोगे । विद्यालयको माटोमा निधार टेकाउँदै उनले बिताएका ३४ वर्षका सम्झना, संघर्ष र उपलब्धिहरू एकैपटक आँखाअघि आएझैँ देखिन्थ्यो ।
उनको बिदाइको क्षण अझ मार्मिक बन्यो, जब उनले विद्यालयको आँगनमा घुँडा टेकेर त्यहाँ रहेको धार्मिक संरचनामा हात जोड्दै श्रद्धा व्यक्त गरे। त्यही विद्यालय, जहाँ उनले वर्षौँसम्म विद्यार्थीलाई अक्षर चिनाए, शिक्षकको नेतृत्व गरे र शैक्षिक उन्नयनका लागि आफ्नो समय र ऊर्जा समर्पण गरे।
विद्यालयको भौतिक संरचनाभन्दा पनि त्यससँग जोडिएका आफ्ना सम्झना र सम्बन्धप्रति अधिकारीको भावनात्मक सम्मान तस्वीरमा स्पष्ट देखिन्छ ।
प्रधानाध्यापकका रूपमा आफ्नो कार्यकालमा सहयोग गर्ने विद्यालय व्यवस्थापन समिति, जनप्रतिनिधि, शिक्षाप्रेमी, समाजसेवी, निजगढ नगरपालिका शिक्षा शाखा, सहकर्मी शिक्षक, कर्मचारी, अभिभावक तथा विद्यार्थी, शिक्षक–अभिभावक संघ, वडा कार्यालय लगायत सबैप्रति उनले हार्दिक आभार व्यक्त गरेका छन् ।
विद्यालयको अक्षयकोषमा सहयोग गर्ने सहयोगी मन भएका व्यक्तिहरू, शुभचिन्तक तथा पत्रकारहरूप्रति पनि उनले विशेष धन्यवाद दिएका छन् ।
“मेरो कार्यकालमा प्रधानाध्यापकका रूपमा मेरो नेतृत्वमा रही सहयोग गर्नुहुने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति हार्दिक आभार व्यक्त गर्दछु,” अधिकारीले आफ्नो बिदाइ सन्देशमा भनेका छन् ।
३४ वर्षसम्म सेवा गरेको विद्यालयबाट बिदा हुँदा उनले केवल एउटा जागिरबाट अवकाश लिएनन्, आफ्नो जीवनको एउटा महत्वपूर्ण अध्यायलाई पनि भावुकतापूर्वक बन्द गरे ।
विद्यालयको आँगनमा उनले निहुरिएर गरेको त्यो अन्तिम नमन—एक शिक्षकको आफ्नो कर्मभूमिप्रतिको सम्मान, कृतज्ञता र आत्मीयताको मार्मिक तस्वीर बनेको छ ।
वि.सं.२०८३ साउन २९ शुक्रवार २१:५६

















