बाढीमा बेपत्ता परिवारलाई विद्यासागर इङ्लिस बोर्डिङ स्कुल निजगढका विद्यार्थीको खाजा खर्च कटाएर सहयोग
वि.सं.२०८३ भदौ २६ शुक्रवार २२:०१

निजगढ-रसुवामा आएको बाढीपहिरोमा बेपत्ता भएका निजगढ–९ निवासी राज बिष्ट र दिनेश परियारका परिवारलाई विद्यासागर इङ्लिस बोर्डिङ स्कुल, निजगढ–बाराका विद्यार्थीहरूले आर्थिक सहयोग गरेका छन् ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले आफ्नो खाजा खर्च कटाएर संकलन गरेको रु. २९ हजार ४ सय २० पीडित परिवारलाई हस्तान्तरण गरेका हुन् । दुःखको समयमा पीडित परिवारप्रति ऐक्यबद्धता जनाउँदै विद्यार्थीहरूले गरेको सहयोगले मानवता, सहानुभूति तथा सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको विद्यालयले जनाएको छ ।
यसैबीच, विद्यालयले पीडित परिवारका एक–एक जना बालबालिकालाई कक्षा १२ सम्म निःशुल्क शिक्षा प्रदान गर्ने घोषणा गरेको छ । पीडित परिवारले आफ्ना बालबालिकालाई विद्यालयमा अध्ययन गराउन चाहेमा निःशुल्क शिक्षाको व्यवस्था गर्ने सञ्चालक समितिका अध्यक्ष भोलाप्रसाद गौतमले जानकारी दिए ।
रकम हस्तान्तरण कार्यक्रममा विद्यालयका सञ्चालक सुरेशकुमार खनाल, कैलाश केसी तिमल्सिना, सन्तबहादुर लामा, पिन्सिपल अभिषेक मिश्र लगायतको उपस्थिति रहेको थियो ।
बाढीपहिरोका कारण आफन्त गुमाएका तथा बेपत्ता परिवारप्रति सहानुभूति प्रकट गर्दै विद्यार्थी र विद्यालयले गरेको सहयोगले विपद्को समयमा समुदायस्तरबाट मानवीय सहयोग र सामाजिक जिम्मेवारीको महत्वलाई थप उजागर गरेको छ ।
वि.सं.२०८३ भदौ २६ शुक्रवार २२:०१

















