जीतपुरमा ५१ वर्षिया बृद्धाले लगाईन् शरिरमा आगो ! उद्धार गरेर अस्पताल पुर्याएपनि बचेन ज्यान
मानसिक समस्याले ग्रस्त
वि.सं.२०८० मंसिर १५ शुक्रवार ११:३८

बारा–बाराको जीतपुरकी ५१ वर्षिया बृद्धा विन्दा देवीले बिहिबार बेलुका आफ्नै शरिरमा आगो लगाएकी छिन् ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरको रामटोलस्थित घरभित्र कोठामा आगो बलेको देखेपछि विन्दालाई उद्धार गरेर अस्पताल पुर्याएको थियो ।
स्थानीय राजेन्द्र गिरिकी पत्नी विन्दालाई उनको छोराले उद्धार गरेर आगोले जलेर गम्भिर घाइते भएकी उनलाई उपचारको लागि वीरगञ्ज लगिएको थियो ।
काठमाडौं लैजादै गर्दा ज्यान गयो
उपचारको लागि लगिएपनि विन्दाको ज्यान गएको छ ।
वीरगञ्जमा उपचार सम्भव नभए पछि थप उपचारका लागि काठमाडौं लैजादै गर्दा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मानसिक समस्याले ग्रस्त
इलाका प्रहरी कार्यालय सिमराका डिएसपी प्रदिप बहादुर क्षेत्रीका अनुसार विन्दा लामो समयदेखि मानसिक रोगबाट पीडित थिईन् ।
‘बृद्धा महिलाले घरभित्र आत्महत्याको प्रयास गरेको देखिन्छ,’ प्रहरी नायव उपरीक्षक क्षेत्रीले भने–परिवारले बचाउने प्रयास गरेपनि उपचारका लागि लैजाने क्रममा मृत्यु भएको छ ।’
विन्दाले यसअघि पनि पटक–पटक आत्महत्याको प्रयास गरेको पाईएको प्रहरी नायव उपरीक्षक क्षेत्रीले जानकारी दिए ।
शव पोष्टमार्टमको लागि वीरगञ्जस्थित नारायाणी अस्पतालमा लगिएको छ ।

वि.सं.२०८० मंसिर १५ शुक्रवार ११:३८