डुमरवानाका अविनाशले काठमाडौमा जमाए ‘गजल मुशायरा’
वि.सं.२०८० मंसिर २५ सोमवार २०:०८

बारा-बाराको जीतपुरसिमरा–१५ नयाँबस्तीका गजलकार हुन् ‘अविनाश’ सापकोटा । सापकोटा मोफलसबाट उदाएका शसक्त युवा गजलकार हुन् । मोफलसमा मात्रै हैन केन्द्रीय राजधानी काठमाडौंको नेपाल गजल प्रतिष्ठानमा शनिबार सापकोटाले जमाएका छन् ।
उनले राष्ट्रिय नाचघर जमलमा ६ वटा आफ्ना गजल र एउटा समकालिन साथीको एउटा गजलसहित ७ वटा गजल सुनाए ।
हजार बाजी जितेर आएँ प्रहार तिम्रो नकार्न सक्थेँ
झुकेर आयौ र जित्न पाएँ नजर जुधाए म हार्न सक्थेँ ।
यो शून्यता जो तिमीबिनाको म आँसुभित्रै बिताउन सक्छु
मुसुक्क हाँसी गरे बिदाई म मर्न सक्थेँ र मार्न सक्थेँ !

गजलकार ‘अविनाश’ सापकोटाले यी शेर बाचन गरिरहँदा राष्ट्रिय नाचघरको प्रेक्षालय वाह ! वाहमय बनेको थियो । स्रोता गजलका शेरमा झुमिरहेका थिए ।
उनीपछि रश्मि असफल जोसिए यी शेरमार्फत :
कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ ।
सक्दैन रोक्न आँखा जेजे देखेको हेछ ऊ बुद्धको नयनमा आँधी चलेको हेर्छ ।
उनीपछि आँचलकुमार शर्मा जोसिए यी शेरमार्फत :
कुवा हुन्थ्यो र जल कञ्चन हुने गथ्यो कुनै बेला कुवामै जूनको मापन हुने गथ्यों कुनै बेला।

नेपाल गजल प्रतिष्ठानले हरेक दुई महिनामा आयोजना गर्दै आएको ‘गजल मुशायरा’ मा यसपटक तीन गजल स्रष्टा प्रस्तुत गरेको छ ।
कार्यक्रममा प्रतिष्ठानले अन्य गजलकारलाई समेत प्रत्यक्ष रूपमा सहभागिता रहेको अनुभूति गराउने उद्देश्यले मञ्चमा उपस्थित तीन गजलकारबाट थप तीन गजलकारका १÷१ गजल प्रस्तुत गर्ने परम्परा मुशायरामा पनि निरन्तरता दिएको छ ।
यसअलावा १० गजलकारका १० उत्कृष्ट सेर सहजकर्ता भुवन निस्तेजले वाचन गरेका थिए ।
यसअघि गजल मुशायरा–१ मा डा. प्रदीपकुमार मैनाली, आवाज शमां र शान्ति शर्मा प्रस्तुत भएका थिए भने गजल मुशायरा–२ मा राधा कणेल, अनजान यात्री र मिलनकुमार ढुंगानालाई प्रस्तुत गरिएको थियो ।

गजलकार करुण थापाले अब नेपाली गजल रदिफ, काफिया र लयभन्दा माथि उठेर भाव र शिल्प परिष्कारतर्फ बढेको भन्दै खुसी व्यक्त गरे ।
‘नेपाली गजलको विकास र विस्तारका लागि’ मूल मन्त्र लिएको प्रतिष्ठानले हरेक महिना गजल सुन्ने सुनाउने गर्दै आएको छ भने बहर बहार र मोती पाठशालामार्फत गजल प्रशिक्षण पनि दिदै आएको छ ।
त्यस्तै, निकट भविष्यमा ’गजल आइडल’ आयोजना गर्ने योजनासमेत बनाइरहेको प्रतिष्ठान अध्यक्ष लालकाजी श्रेष्ठले जानकारी दिए ।
आागामी १८ चैतमा दोस्रो सांगीतिक मुशायरासमेत आयोजना हुने जनाइएको छ ।
वि.सं.२०८० मंसिर २५ सोमवार २०:०८
















