वर्षाले निजगढ ७ मा घर डुवानमा परेका परिवारको शसस्त्र प्रहरीले गर्यो उद्धार
बाढीले अलपत्र परेकाको उद्धार
वि.सं.२०८० असोज १९ शुक्रवार ०८:१८

बारा–अविरल वर्षाको कारण बाराको निजगढको जनजीवन प्रभावित भएको छ ।
वर्षाले निजगढ ७ मा केही घर डुवानमा परेका छन् । वर्षाको पानी घरभित्र पसेपछि सडकसम्म निस्कनसमेत मुस्किल भएको छ ।
घरदेखि मुल सडकसम्मको वाटोमा समेत ४ फिट भन्दा बढी पानी जमेपछि स्थानीयलाई शसस्त्र प्रहरीको उद्धार टोलीको मद्दतले बाहिर निकालिएको स्थानीय सञ्चारकर्मी थानेश्वर सापकोटाले जानकारी दिएका छन् । सशस्त्र प्रहरी बल, नेपाल विपद व्यवस्थापन वेश निजगढको टोलीले उद्धार गरेको हो ।
नालाको व्यवस्थापन नहुँदा वडा नं. ७ को कार्यालय र भेटनरी कार्यालय पछाडी रहेको बस्ती सधैं डुवानमा पर्दै आएको छ । लामो समयदेखि समस्या भोग्दै आएपनि समाधान हुन नसकेको स्थानीयको गुनासो छ ।
बाढीले अलपत्र परेकाको उद्धार
अविरल वर्षपछि निजगढको भमरा खोलामा आएको बाढीका कारण जंगलमा अलपत्र परेका निजगढ वडा नम्बर ६ र ७ का २४ जनालाई सशस्त्र प्रहरी निजगढले हिजो राति उद्धार गरेको छ ।
जंगलमा घाँस दाउरा गरेर घर फर्किने क्रममा खोलाको बाढी तर्न नसकेर जंगलमै अलपत्र परेका बालबालिकासहित २४ जनाको हिजो राति ९.३० बजे उद्धार गरिएको सशस्त्र प्रहरीको विपद व्यवस्थापन बेस निजगढले जानकारी दिएको छ । बेसका प्रहरी नायब उपरीक्षक दिनेश शर्माले दिएको जानकारीअनुसार निजगढ वडा नम्बर ६ का १८ र वडा नम्बर ७ का ६ जनाको सकुशल उद्धार गरिएको हो ।

प्रहरीले उनीहरुमध्ये केहीलाई बोकेर र केहीलाई डोरीको सहायताले नदी पार गराएको थियो । भमरा खोलामा अचानक आएको बाढीपछि जंगल गएका स्थानीय हिजो साझदेखि नै खोला पारि नै रोकिएका थिए ।
वि.सं.२०८० असोज १९ शुक्रवार ०८:१८

















