नापी कार्यालय बर्दीबासका सर्भेक्षक घुससहित पक्राउ
वि.सं.२०८३ भदौ ३० मंगलवार २०:४०

महोत्तरी । महोत्तरीको बर्दीबासस्थित नापी कार्यालयमा कार्यरत एक नापी सर्भेक्षक १ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
नापी सर्भेक्षक शिवकुमार साहलाई मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दीबासको टोलीले घुस रकमसहित रंगेहात पक्राउ गरेको हो ।
जग्गा ट्रायलका लागि निवेदन दिएका सेवाग्राहीसँग लामो समयदेखि घुस रकमका लागि बार्गेनिङ भइरहेको सूचनाका आधारमा अख्तियारको टोलीले निगरानी बढाएको थियो ।
मंगलबार अपराह्न करिब ४ बजे नापी कार्यालय अगाडिको एक खाजा घरमा सेवाग्राहीबाट १ लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा साहलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दीबासका सूचना अधिकारी प्रकाश पोखरेलले बताए ।
उनका अनुसार साहलाई नियन्त्रणमा लिएर स्थलगत मुचुल्का लगायत कानुनी प्रक्रियाको काम भइरहेको छ ।
वि.सं.२०८३ भदौ ३० मंगलवार २०:४०

















