वर्तमान सरकार असफल भयो : पूर्व अर्थमन्त्री पौडेल
वि.सं.२०८० असोज ११ बिहीवार २१:२३

बारा–नेकपा (एमाले) का केन्द्रिय उपाध्यक्ष बिष्णु पौडेलले अहिलेको सरकार असफल भएको टिप्पणी गरेका छन् ।
बाराको पचरौता नगरपालिकामा नेकपा (एमाले) नगर कमिटीले आयोजना गरेको पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व उपप्रधान तथा अर्थमन्त्री समेत रहेका पौडेलले नेपाली जनतालाई सुरक्षा प्रदान गर्न नसक्ने सरकारले समृद्धिको कुरा गर्नु कतिको जायज हो भन्दै प्रश्न गरे । ‘अहिलेको गठबन्धनको सरकारले देशमा कुनै प्रकारको रचनात्मक काम नगरेको छैन,’ पौडेलले भने–‘सुखी नेपाली समृद्ध नेपालको नारा लिएर देश, जनताको भलो गर्नका लागि एमाले अगाडी बढीरहेको अवस्थामा सरकारले एमालेका नेताहरुलाई नै छानी छानी विभिन्न झुटा मुद्दा लगाई जेल हाल्ने काम गरेको छ ।’
शिक्षक, डाक्टर जस्तो जिम्मेवार ब्यक्तिहरुले जायज माग राखि गरिरहेको आन्दोलनलाई दबाउन सरकारले हर सम्भव प्रयास गरेको नेता पौडेलको आरोप छ । वार्ता र सम्वादको मार्फतबाट समस्याहरुको हल गर्न सरकारसंग उपाध्यक्ष पौडेलले माग गरे ।
बारामा श्रृखलावद्ध हत्या हिंसा हुँदै गएको हुदा तत्काल जिल्लामा शान्ति सुरक्षाको प्रत्याभुति गर्नेे काम गर्न सरकारको ध्यानाकर्षण गराए ।
सोहि कार्यक्रमलाई सम्बोधन गर्दै एमालेका सचिव एवम् मधेस विभाग प्रमुख योगेश भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई संस्थागत हुन नदिनका लागि चौतर्फी प्रहार भईरहेको हुँदा यसलाई संस्थागत गर्नेतिर लाग्नुपर्ने धारणा ब्यक्त गरेका थिए ।
सुन तस्करीको बिषयमा निष्पक्ष रुपमा छानविन गर्न उनले माग गरे । २०८४ सालमा एमालेले बहुमत प्राप्त गर्नेमा आफु ढुक्क रहेको सचिव भट्टराईले उद्घोष गरे ।
नगर कमिटीका अध्यक्ष जयनारायण राउतको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा पोलिटब्यूरो सदस्य पुरुषोत्तम पौडेल, ज्वालाकुमारी साह, रामदेयाल मण्डल, केन्द्रिय सदस्य बलबिर चौधरी, एकवाल मियाँ, कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोद साह, जिल्ला पार्टी सचिव अध्यानन्द पाण्डेय, प्रदेश सदस्य मनोज पौडेल, पचरौता नगरपालिकाका नगर प्रमुख जलन्दर सिंह, वडा अध्यक्ष लक्ष्मी यादवलगायतका नेताहरुले आफ्नो बिचार ब्यक्त गर्दै संगठनलाई बलियो पार्ने दिशामा अग्रसर हुन आग्रह गरेका थिए ।

कार्यक्रममा नेपाली काग्रेस, माओवादी केन्द्र, जसपा, लोसपालगायतका पार्टीहरुबाट सयौको संख्यामा पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेका थिए । नवप्रवेशीहरुलाई प्रमुख अतिथी उपाध्यक्ष पौडेलले फुल माला लगाई पार्टीमा प्रवेश गरेका थिए ।
वि.सं.२०८० असोज ११ बिहीवार २१:२३


















