व्यवसायीहरुले आफ्नो व्यवसाय व्यवस्थित बनाउनु जरुरी छ –उपमेयर डंगोल
वि.सं.२०७९ फागुन ९ मंगलवार १६:०८

काठमाडौं, । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महानगरले व्यवसायलाई प्रोत्साहन गर्नको लागि व्यवसायीहरुले आफ्नो व्यवसाय व्यवस्थित बनाउनु जरुरी रहेको बताएकी छन् । आज ग्रिल तथा स्टील व्यवसायी संघ काठमाडौंको ७ औं वार्षिक साधारण सभामा बोल्दै उपमेयर डंगोलले महानगरभित्र व्यापार व्यवसाय गर्ने धेरैले अनौपचारिक रुपमा गरिरहेको भन्दै औपचारिक दायरामा आउनको लागि व्यवसाय दर्ता गर्न आग्रह गरेकी छन् । उपमेयर डंगोलले महानगर भित्र सञ्चालनमा रहेका उद्योग व्यवसायलाई प्रोत्साहन गर्ने नीति लिएको बताएकी छन् ।
उपमेयर डंगोलले व्यवसाय दर्ता गर भन्दा कर तिर भनेको बुझ्ने गरेको भन्दै करको दायरामा आउनु भनेको दायरा फराकिलो बनाएर घटाउन सजिलो हुने बताएकी छन् । दर्ता नभएका व्यवसायीहरुको माग सम्बोधन गर्न महानगर अन्योलमा रहेको उपमेयर डंगोलले स्वीकार गरेकी छन् । डंगोलले व्यवसाय दर्ताको रेकर्ड हेर्दा ५० वटा हुने तर काम गरिरहेको ५ हजार बढी रहेको पाइएको पनि बताइन् ।उपमेयर डंगोलले व्यवसाय औपचारिक रुपमा दर्ता गर्नु आफ्नो व्यवसायको पहिचान दिनुभएको उल्लेख गरेकी छन् ।
वि.सं.२०७९ फागुन ९ मंगलवार १६:०८

















