ट्रायलमा जाँदै नगएका र फेल भएका १६६ जनालाई सवारी लाइसेन्स, ९ जनाविरुद्ध मुद्दा
यातायात कार्यालयमा बेथिति
वि.सं.२०७८ चैत १० बिहीवार १७:२६

काठमाडौं । यातायात व्यवस्था कार्यालय सवारी अनुमति पत्र, कास्कीले ट्रायलमा उपस्थित नभएका र फेल भएका १ सय ६६ जनालाई सवारी चालक अनुमति पत्र दिएको पाइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त कार्यालयका तत्कालीन निमित्त प्रमुख गोकुल शर्मा पौडेलसहित ९ जनाविरुद्ध विहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले ट्रायलमा पास भएका २ जनालाई सिस्टममा भने फेल भएको रेकर्ड देखाएको अख्तियारको दाबी गरेको छ ।
‘१६८ जना परिक्षार्थीहरूको प्रयोगात्मक परिक्षाको परिणाम फेरबदल गरेको देखिएको साथै ट्रायल परीक्षामा खटिने निरीक्षकहरूले हस्ताक्षरसहित पेस गरेको नतिजा सूची उपलब्ध गराइ सोही नतिजाका आधारमा ट्रायल टेस्ट अपडेट र अप्रुभ हुनुपर्नेमा सो विपरीत हुने गरी फेल तथा अनुपस्थित रहेका परिक्षार्थीहरूलाई पास र पास भएका परिक्षार्थीहरूलाई फेल गरी गराइ परीक्षाको परिणाम फेरबदल गराएको पाइएको छ’, अख्तियारद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
अख्तितयारले अधिकृतहरू पौडेलसहित हरिप्रसाद गौतम, भरतराज काफ्ले, प्रेमप्रसाद श्रेष्ठ, भरतमणी बराल, डिल्लीराज बराल, होमनाथ शर्मा तथा कम्प्युटर अपरेटरहरू झलक पौडेल र मोहनमणी सुवेदीलाई प्रतिवादी बनाएको छ ।
अख्तियारका अनुसार २०७६ साउनदेखि मंसिरसम्म सञ्चालन भएका ट्रायलमा उक्त बदमासी गरिएको हो ।
वि.सं.२०७८ चैत १० बिहीवार १७:२६

















