वडाअध्यक्ष रावतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर (विज्ञप्ति)
वि.सं.२०७८ चैत १० बिहीवार १७:३४

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको सर्केगाड गाउँपालिका वडा नं- ३ का वडाध्यक्ष गज बहादुर रावतसमेत ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उनीहरुसँग ८ लाख रुपैयाँ बिगो दाबी गर्दै अख्तियारले बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
अख्तियारले मुद्दा दायर गरेका अन्यमा सर्केगाड गाउँपालिकाका स्वास्थ्य संयोजक सन्तोष धामी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत यज्ञश्वर पाण्डे र तत्कालीन लेखापाल सुरत बहादुर रेश्मी रहेका छन् ।
वडाध्यक्ष रावतले गाउँपालिकाबाट औषधि खरिदको लागि आएको रकमको कम औषधि खरिद गरी बाँकी रकम हिनामिना गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।
अनुसन्धान हुँदा उनीहरुले सरकारलाई हानिनोक्सानी पु¥याउने बदनियतले औषधि खरिद तथा ढुवानीमा भ्रष्टाचार गरेको भेटिएको अख्तियारले जनाएको छ ।
जिल्ला हुम्ला, सर्केगाड गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष गज बहादुर रावतसमेत ४ जना उपर बिगो रु. ८,००,०००।– कायम गरी गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
प्रेस विज्ञप्ति:- मिति २०७८।१२।१० गते ।
—————————————————-
जिल्ला हुम्ला, सर्केगाड गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष गज बहादुर रावतले गाउँपालिकाबाट औषधि खरिदको लागि आएको रकमको कम औषधि खरिद गरी बाँकी रकम हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला हुम्ला, सर्केगाड गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष गज बहादुर रावत, सर्केगाड गाउँपालिकाका स्वास्थ्य संयोजक सन्तोष धामी, सर्केगाड गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत यज्ञश्वर पाण्डे, सर्केगाड गाउँपालिकाका तत्कालीन लेखापाल सुरत बहादुर रेश्मीसमेतले आफू वा अन्य व्यक्तिलाई लाभ र नेपाल सरकारलाई हानिनोक्सानी पुर्याउने बदनियतले औषधि खरिद तथा ढुवानीको नक्कली बिल भरपाई तयार गरेको, बिभिन्न व्यक्तिहरुले रकम बुझेको भरपाई बनाई, प्राप्त बिल भरपाईको सत्यतथ्य जाँच नगरी भुक्तानीको लागि सिफारिस गर्नुको साथै भुक्तानीसमेत गरी नेपाल सरकारलाई गैरकानूनी लाभ वा हानी पुर्याउने बदनियतले कागजात तयार गरी भुक्तानी लिई रु.८,००,०००।- हिनामिना गरेको हुँदा सो कार्यमा संलग्न वडाध्यक्ष गज बहादुर रावत, स्वास्थ्य संयोजक सन्तोष धामी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत यज्ञश्वर पाण्डे र तत्कालीन लेखापाल सुरत वहादुर रेश्मीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) मा व्यवस्था भएबमोजिमको कसुरमा रु.८,००,०००।- (आठ लाख रुपैयाँ) बिगो कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) मा उल्लेख भएबमोजिमको अधिकतम कैद तथा खुल्न आएको विगो प्रतिवादीहरूबाट असुलउपर गरी बिगोबमोजिमको जरिवानासमेतको मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
वि.सं.२०७८ चैत १० बिहीवार १७:३४

















