असार २० भित्र भुक्तानी फाइल बुझाउन जीतपुरसिमरा उपमहानगरपालिकाकाे आग्रह
वि.सं.२०८२ असार १७ मंगलवार १९:११

बारा- जीतपुरसिमरा उपमहानगरपालिकाले आयोजना तथा कार्यक्रमको भुक्तानी प्रक्रिया सम्बन्धमा एक महत्वपूर्ण सूचना जारी गरेको छ ।
नगरपालिकाको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को उपनियम (७) अनुसार, कुनै पनि कार्यक्रम सम्पन्न भएको ७ दिनभित्र भुक्तानी प्रक्रिया थाल्नुपर्ने व्यवस्था अनुसार अबदेखि काम सम्पन्न भइसकेका आयोजनाहरूको भुक्तानी समयमै नगरिएको अवस्थामा सम्बन्धित शाखाले उक्त भुक्तानी फाइल पुनः पेश गर्न नपाउने स्पष्ट गरिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत शान्ती राज प्रसाईले जारी गरेकाे सूचनामा उपमहानगरपालिकाले आगामी असार २० गतेभित्र काम सम्पन्न भएका आयोजनाहरूका सम्बन्धित कागजातसहितको फाइल पेश गर्न अनुरोध गरिएको छ । साथै, निर्माण व्यवसायी उपभोक्ता समितिहरूलाई समेत समयमै कार्य सम्पन्न गरी भुक्तानी दाबी पेश गर्न अनुरोध गरिएको छ ।
यस निर्णयबाट नगर कार्यपालिकाले सुशासन, पारदर्शिता र जिम्मेवारीपूर्ण प्रशासनिक अभ्यासलाई प्राथमिकता दिएको संकेत मिलेको छ । साथै, वडा कार्यालयहरूलाई पनि तोकिएको समयसीमाभित्र काम सम्पन्न भइसकेका आयोजनाहरूको विवरण पेश गर्न निर्देशन दिइएको छ ।
वि.सं.२०८२ असार १७ मंगलवार १९:११
















