करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु
वि.सं.२०७९ साउन १ आइतवार २२:१३

कपिलवस्तु-कपिलवस्तुमा करेन्ट लागेर विद्युत प्राधिकरणका एक कर्मचारीको मृत्यु भएको छ। जिल्लाको मायादेवी गाउँपालिका ८ अमाहवामा करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारी शैलेन्द्रकुमार पाण्डेयको मृत्यु भएको प्रहरीले जनाएको छ।
कपिलवस्तु नगरपालिका ८ गोपालपुर घर भएका पाण्डेयले नेपाल विद्युत प्राधिकरण तौलिहवा वितरण केन्द्रमा मिटर रिडरको रुपमा ज्यालादारीमा काम गर्ने गरेको तौलिहवा वितरण केन्द्रका प्रमुख राजेशकुमार झाले बताए।
मिटर ठाउँ सारी गर्न विद्युतको पोलमा लाईन जोडने क्रममा करेन्ट लागेर उनी सिँढीबाट तल खसेका थिए। पाण्डेयलाई करेन्ट लागेर घाइते भएको देखेपछि उनीसँगै गएका अर्का मिटर रिडर बिष्णु रैदसा अचेत भएका थिए।
घाइते पाण्डेयको उपचारका लागि कपिलवस्तु अस्पताल ल्याउने क्रममा बाटो मै मृत्यु भएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको कपिलवस्तु प्रहरीले जनाएको छ ।
वि.सं.२०७९ साउन १ आइतवार २२:१३

















