प्रतिस्पर्धी जनशक्ति उत्पादन र शिक्षाको गुणस्तर वृद्धिमा सबैको भूमिका समान हुने–पूर्णबहादुर खड्का
वि.सं.२०७९ माघ १२ बिहीवार १३:१०

काठमाडौं । शिक्षाको गुणस्तर वृद्धिका लागि शिक्षक, अभिभावक र विद्यार्थीको समान भूमिका हुने नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले बताएका छन् । आज गुर्भाकोट नगरपालिकाको नेपाल राष्ट्रिय माविको ४९औँ वार्षिकोत्सब समारोह उद्घाटन गर्दै उनले प्रतिस्पर्धी जनशक्ति उत्पादनका लागि तीन पक्षको समन्वय र सहकार्य आवश्यक भएको बताएका छन् ।
“अब्बल विद्यार्थी उत्पादन गर्नका लागि शिक्षकले राम्रो शिक्षा दिनुपर्छ, अभिभावकले त्यसको वातावरण तयार गरिदिनुपर्छ, विद्यार्थीले मन लगाएर पढ्नुपर्छ,” उहाँले भन्नुभयो, “यी तीन पक्षको समन्वय र सहकार्य हुन सक्यो भने मात्रै गुणस्तरीय र अब्बल विद्यार्थी उत्पादन गर्न सकिन्छ ।”
उपसभापति खड्काले विद्यार्थीलाई किताबी ज्ञानसँगै अतिरिक्त क्रियाकलाप र जीवन जिउने कला सिकाउनु आवश्यक रहेको बताएका छन् । “गुणस्तरीय शिक्षासँगै विद्यार्थीलाई अतिरिक्त क्रियाकलाप र अनुशासन, चरित्र र जीवन पद्धति सिकाउनेतर्फ पनि ध्यान दिन आवश्यक छ,” उनले भने , “अनुशासन, चरित्रवान र जीवन पद्दति बुझेको विद्यार्थी अहिलेको आवश्यकता हो ।”
उपसभापति खड्काले विद्यालयले राखेका माग पूरा गर्ने प्रतिबद्धतासमेत जनाएका छन् । उनले विद्यालयलाई आवश्यक बसका साथै पूर्वाधार निर्माणको माग पूरा गर्ने उनको भनाइ छ । उपसभापति खड्काले निर्वाचनका क्रममा जनतासँग गरेका वाचा पूरा गर्ने प्रतिबद्धता पनि दोहो¥याएका छन् । “सरकार फेरबदल हुँदा चुनावमा गरिएका वाचा पूरा हुँदैनन् कि भन्ने मतदातामा चिन्ता देखियो,” उनले भने “हामीले पाँच वर्षका लागि जे–जे वाचा गरेका थियौँं, ती सबै पूरा हुन्छन् ।”
वि.सं.२०७९ माघ १२ बिहीवार १३:१०
















