skip this

निजगढ–चपुर सडकको धन्सार पुल छेउमा पेट्रोल बोकेको ट्यांकरमा आगलागी

45 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बारा–रौतहट सीमाक्षेत्रमा पेट्रोल बोकेको ट्यांकर दुर्घटनापछि आगलागी हुँदा ट्यांकर पूर्णरूपमा जलेर नष्ट भएको छ ।

आज बिहान करिब ५:४५ बजे, बारा जिल्लाको निजगढस्थित धन्सार पुलबाट करिब एक किलोमिटर पूर्व, रौतहटको गुजरा नगरपालिका–३ क्षेत्रमा रहेको सडक छेउको वन क्षेत्रमा करिब १२ हजार लिटर पेट्रोल बोकेको ट्यांकर पल्टिएको थियो । दुर्घटनापछि ट्यांकरमा भीषण आगलागी भएको हो ।

आगलागी नियन्त्रणका लागि चन्द्रपुर, निजगढ, कोल्हवी, जितपुर–सिमरा तथा अमलेखगञ्जस्थित नेपाल आयल निगमको वारुणयन्त्र, साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरीलगायतको टोली घटनास्थलमा पुगेको थियो। आगो नियन्त्रणमा ल्याउने प्रयास गरिए पनि ट्यांकर पूर्णरूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

प्रारम्भिक जानकारीअनुसार, जंगलबाट सडकमा आएको मृगलाई जोगाउने क्रममा चालकले ट्यांकर नियन्त्रण गुमाउँदा दुर्घटना भएको बताइएको छ।

दुर्घटनामा चालक र सहचालक भने सकुशल रहेका रौतहट प्रहरीले जनाएको छ।

उक्त ट्यांकर बाराको अमलेखगञ्जबाट सर्लाहीतर्फ पेट्रोल लिएर जाँदै गरेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

nijgadh-supermart-adz1200-630