विद्यालय व्यवस्थापन समिति गठनका लागि आदर्श कोतवाल गाउँपालिकाले दियाे १५ दिन म्याद
वि.सं.२०८२ जेठ १६ शुक्रवार २१:१७

बारा-बाराकाे आदर्श कोतवाल गाउँपालिकाले गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरूमा विद्यालय व्यवस्थापन समिति गठनका लागि १५ दिनको सूचना जारी गरेको छ।
गाउँपालिकाको कार्यालयले २०८२/०२/१६ मा प्रकाशित पत्रमार्फत लामो समयदेखि विद्यालय व्यवस्थापन समिति गठन नभएको र यसले शिक्षालय सञ्चालनमा समस्या उत्पन्न गरिरहेको जनाउँदै उक्त सूचना जारी गरेको हो ।
सूचनामा उल्लिखित अनुसार विद्यालय व्यवस्थापन समितिको गठन नभएका विद्यालयहरूले १५ दिनभित्र समिति गठन प्रक्रिया अघि बढाउनुपर्नेछ । अन्यथा आवश्यक प्रशासनिक कदम चालिने चेतावनी पनि दिइएको छ ।

यस कार्यका लागि सबै प्रधानाध्यापक तथा सरोकारवालाहरूलाई जानकारी गराउँदै यथाशीघ्र आवश्यक पहल गर्न गाउँपालिका कार्यालयले अनुरोध गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत विजय कुमार चौधरीले हस्ताक्षर गरेको उक्त पत्रमा समितिहरू गठन भएपछि विद्यालयमा पठनपाठन तथा अन्य क्रियाकलापहरू सहज रूपमा सञ्चालन हुने अपेक्षा गरिएको छ ।
वि.सं.२०८२ जेठ १६ शुक्रवार २१:१७
















