सामुदायिक वनको अनुपम उदाहरण: विपन्नका लागि निजगढ ५ काे जन जागृति सुन्दरको निशुल्क स्वास्थ्य बीमा
वि.सं.२०८२ जेठ १९ सोमवार २२:५२

बारा-बाराको निजगढ नगरपालिका–५ स्थित श्री जन जागृति सुन्दर सामुदायिक वन उपभोक्ता समूहले उदाहरणीय कार्य गर्दै विपन्न परिवारहरूको स्वास्थ्य बीमा गराएको छ ।
समूहले आफ्नो सामुदायिक विकास योजनाअन्तर्गत १२ घरधुरीका करिब ५० जनाको निःशुल्क स्वास्थ्य बीमा गरिदिएको हो ।
समूहका अध्यक्ष जयप्रसाद ढुङ्गानाका अनुसार, बारा जिल्लाका अन्य सामुदायिक वन उपभोक्ता समूहहरू भन्दा फरक र सकारात्मक उदाहरण प्रस्तुत गर्दै स्वास्थ्य क्षेत्रमा बीमा कार्यक्रम सञ्चालन गरिएको हो ।
“उपभोक्ताहरूको स्वास्थ्य उपचारमा केही राहत पुगोस् भन्ने हाम्रो मुख्य उद्देश्य हो,” अध्यक्ष ढुङ्गानाले बताए ।
श्री जन जागृति सुन्दर सामुदायिक वन उपभोक्ता समूहले आफ्नो कार्यक्षेत्रलाई ६ वटा टोलमा विभाजन गरेको छ । प्रत्येक टोलबाट दुई–दुई गरिब, विपन्न वा अतिविपन्न घरधुरी छनोट गरिएको हो।
खोल्माटोलबाट सन्तोष चौलागाईं र जयराम जिम्बा, पुर्बटोलबाट जगत बल, दुर्गा बहादुर आचार्य, शिखरबस्ती टाेलबाट निर्मला पाण्डे र र डालिमाया कुश्वार, गैरीटोलबाट डम्बर नेपाली र कमला बिक, प्रतिक्षा टोलबाट माधब गौतम र कमला भण्डारी गौतम, स्कुल टोलबाट उज्ज्वल ढुङ्गान र ध्रुव कुश्वार छन् ।
बीमा गरिएका प्रत्येक परिवारले वार्षिक एक लाख रुपैयाँ बराबरको स्वास्थ्य सेवा सुविधा पाउने छन् । बीमा अभिकर्ता करुणा राउतका अनुसार, यस सेवाको लागि वार्षिक रु ३,५०० तिर्नुपर्ने भए पनि आगामी दुई वर्षसम्म बीमा प्रिमियम सामुदायिक वन समूहले बेहोर्नेछ ।
स्वास्थ्यसँग जोडिएको यस्तो कार्यक्रम सामुदायिक वन योजनाको वार्षिक साधारण सभाबाट निर्णय गरी सुरु गरिएको हो ।

समाजका सबै वर्गलाई समेट्ने प्रयासस्वरूप सामुदायिक वनले यस किसिमको सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको छ । यो कदमले अन्य सामुदायिक वन उपभोक्ता समूहहरूलाई पनि सामाजिक कार्यमा सक्रिय हुन प्रेरणा दिने विश्वास गरिएको छ ।
वि.सं.२०८२ जेठ १९ सोमवार २२:५२

















