शौचालयमा लुकेर महिलालाई जबरजस्ती गर्ने गोरखा सैनिक दोषी ठहर
दुई पटक राईले ती महिलालाई चुम्बनका लागि आग्रह गरेका थिए
वि.सं.२०७८ फागुन २० शुक्रवार १०:२४
तस्वीर : सोलेन्ट न्यूज
लण्डन । ब्रुनाइको टुकर लेन्समा रहेको गोरखा सैनिकको क्याम्पको पुरुष शौचालयमा लुकेर सरसफाइ गर्ने महिलालाई यौन सम्बन्ध राख्न जबरजस्ती गरेको अभियोग लागेको एक सेवारत गोरखा सैनिकलाई सैनिक अदालतले दोषी ठहर गरेको छ ।
सेकेण्ड गोरखा राइफल्समा कार्यरत २६ वर्षीय गोरखा सैनिक ताराहाङ राईलाई बुलफोर्ड मिलिटरी कोर्ट, बिल्सायरले दोषी साबित गरेको हो ।
सरकारी वकिल विलियम पिटर्सका अनुसार घटना भएको दिन ती महिला र राईको पुरुष शौचालयमा तीनपटक जम्काभेट भएको थियो । दुई पटक राईले ती महिलालाई चुम्बनका लागि आग्रह गरेका थिए तर तेस्रोपटक राईले महिलालाई समातेर शौचालयभित्र लैजान जोड गरेका थिए। त्यसपछि महिलाले छोड्न पटकपटक आग्रह गर्दा पनि नछोडेका राईले महिलाले चिच्याउने धम्की दिएपछि भने छोडेका थिए ।
घटनापश्चात महिलाले आफ्नो म्यानेजरलाई सो घटना बताएकी थिइन् ।
राईले आफूमाथि लगाइएको अभियोग अस्वीकार गर्दै आएका थिए । राईले महिलाले नै आफूलाई फेसबुकमा ‘क्युट’ लेखेको र उनलाई फेसबुकमा ब्लक गर्नु परेको बताएका थिए । महिलाले आफूबाट फाइदा लिन खोजेको तर आफूले नदिएपछि यौन दुर्ब्यवहारको आरोप लगाएको राईको भनाइ थियो ।
यद्यपि उनको भनाइलाई अदालतले अस्वीकार गरेको छ ।
वि.सं.२०७८ फागुन २० शुक्रवार १०:२४
















