बजेट संशोधनमार्फत सहमतिको मार्गमा जीतपुरसिमरा (भिडियो)
जीतपुरसिमरा उपमहानगरपालिकाको ११ औं नगर सभा सम्पन्न
वि.सं.२०८१ चैत १२ मंगलवार १०:१३

बारा–संशोधिन बजेट सर्वसम्मतले पारित गर्दै जीतपुरसिमरा उपमहानगरपालिकाको ११ औं नगर सभा सम्पन्न भएको छ ।
सिमरास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमराको सभाहलमा शनिबार आयोजित नगर सभामा सभाका उपाध्यक्ष भोलाप्रसाद अधिकारीले प्रस्तुत संशोधिन बजेट सर्वसम्मतले पारित गरेको छ ।
सभाका अध्यक्ष राजन पौडेलले हस्तान्तरण गरेको बजेट प्रस्तुत गर्दै उपाध्यक्ष अधिकारीले चालू आर्थिक वर्ष २०८१÷/०८२ मा १० औं नगर सभाबाट पारित भएकै कुल बजेटमा वडा सिलिङ्ग बढाएर प्रस्तुत गरेका थिए ।
उनले वडाको कुल सिलिङ्ग रु. १२ करोड १४ लाख ६ हजारबाट बढाएर २७ करोड विनियोजन गरेका छन् । जसमध्ये प्रति वडामा न्यूनतम ५६ लाख २५ हजार र वडागत जनसंख्या, भुगोल, भौतिकपूर्वाधारको विकास र राजश्व संकलनलाई मुख्य सूचक मानेर थप बजेट विनियोजन गरि पेश गरेका हुन् ।
त्यसैगरि बजेटलाई जनमुखी बनाउन प्रत्येक वडामा एउटा रु. २५ लाख नघट्ने गरे पूजीगत आयोजना प्रस्ताव गरिएको छ ।
बजेट प्रस्तुत गर्नुअघि सभा अध्यक्ष पौडेलले बैठक सञ्चालन गर्दै कार्यपालिकामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरुलाई मन्तव्य राख्ने समय दिएका थिए ।
सभामा कार्यपालिका सदस्य मोतिलाल राउत, संजय पटेल, रामप्रसाद लामिछाने, हरिदेव खरेल, चतुरबाबु वाग्लेले विचार राखेका थिए ।
सभामा प्रस्तुत बजेटबारे हिमबहादुर गुर्जा मगर, इन्दल हजरा, सिता उप्रेती, सुरेशप्रसाद यादव, प्रेमबहादुर गोले लगायतले आफ्ना वडाका विभिन्न समस्या र बजेट व्यवस्थापनबारे प्रश्न तथा धारणा राखेका थिए ।
प्रस्तुत संशोधिन बजेटमाथि उठेका प्रश्न तथा जिज्ञासाको सभाका उपाध्यक्ष भोलाप्रसाद अधिकारीले जवाफ दिएका थिए ।
बजेट तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिएसँगै सभाध्यक्ष पौडेलले संशोधिन बजेटलाई निर्णाथ प्रस्तुत गरेका थिए । प्रस्तावको पक्षमा सभाका सम्पूर्ण सदस्यले मत व्यक्त भएसँगै सर्वसम्मत रुपमा प्रस्ताव पास भएको घोषणा गरेका थिए ।
प्रस्ताव पासभएसँगै उत्साहित देखिएका सभाध्यक्ष पौडेलले समापन मन्तव्यमार्फत सार्वजनिक जग्गा संरक्षणदेखि स्वास्थ्य र शिक्षामा उपमहानगरपालिकाले उल्लेख्य काम गरेको बताउँदै त्यसमा वडा अध्यक्षहरुको भूमिकाको प्रसंशा गरे ।
उनले १० औं नगर सभाका विषयमा संवैधानिक तथा कानूनी परिस्थितिमा अदालतबाट भएको निर्देशनात्मक फैसलासहित रिट खारेज भएको उल्लेख गर्दै अदालतको निर्देशनात्मक आदेशलाई उपमहानगरपालिकाले अक्षरश पालना गर्ने प्रतिद्धता व्यक्त गरे ।
उनले आगामी बजेट तथा कार्यक्रम कार्यतालिका अनुसार केन्द्रित हुन आह्वान गर्दै उपमहानगरको बैठकमा तयारीसहित पहिलो प्राथमिकतामा राख्न आग्रह गरे ।

वि.सं.२०८१ चैत १२ मंगलवार १०:१३