मधेसमा नयाँ सत्ता समीकरण : लोसपाका जितेन्द्र सोनल मुख्यमन्त्री बन्ने पक्का
जनमतले कांग्रेस–एमालेको साथ छाडेपछि बन्यो नयाँ सहमति
वि.सं.२०८२ असोज २९ बुधवार ११:००

बारा-मधेस प्रदेशमा सत्ता समीकरण फेरिँदै लोसपाका नेता जितेन्द्र सोनल मुख्यमन्त्री बन्ने निश्चित भएको छ । पाँच दलबीचको सहमतिअनुसार मधेस केन्द्रित दलहरूको सरकार बन्न लागेको हो ।
सहमति अनुसार जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीले ४/४ जना मन्त्री पाउनेछन् भने लोसपा मुख्यमन्त्रीसमेत २ मन्त्रालय पाउने सहमति भएको छ । त्यस्तै नेकपा माओवादी केन्द्र र नेकपा (एस) लाई १/१ मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।
यसबीच, नयाँ समीकरणप्रति असन्तुष्टि जनाउँदै नेपाली कांग्रेसका मधेस प्रदेश प्रचार प्रमुख नितेश गुप्ताले जनमत पार्टीमाथि गम्भीर आरोप लगाएका छन् । उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै जनमत पार्टीले प्रारम्भिक सहमति तोडेर पैसाको प्रलोभनमा परेको दाबी गरेका छन् ।
गुप्ताले लेखेका छन् –
“जनमत पार्टीले मधेसको हितका लागि होइन, व्यक्तिगत स्वार्थका लागि निर्णय गरेको छ । पैसा र पदको लोभमा परेर कांग्रेससँगको सहमति तोड्नु गद्दारी हो ।
उनका अनुसार जनमत पार्टीभित्र आर्थिक चलखेल र सत्ता लोभले नयाँ गठबन्धन बनेको हो ।

यससँगै मधेस प्रदेशमा कांग्रेस–एमाले सत्ताबाहिर रहने निश्चित भएको छ । नयाँ गठबन्धनको नेतृत्व लोसपाले गर्ने र अन्य दलहरूले समर्थन गर्ने सहमति गरिएको छ ।
यसअघि कांग्रेसका कृष्णप्रसाद यादवलाई अघि सारेर तीन दलले मधेशमा नयाँ सरकारका लागि दाबी पेश गरेका थिए ।
सरकारको नेतृत्व गरेको जनमत र सत्ता साझेदार एमाले समेतको सहमतिमा संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम नयाँ सरकार गठनका लागि दावी पेश गरिएको थियो ।
एमालेका २३, कांग्रेसका २२ र जनमतका १३ जना प्रदेशसभा सदस्यको समर्थनमा नयाँ सरकार गठनका लागि दावी पेश गरिएको थियो ।

१०७ सदस्य प्रदेश सभामा सरकार बनाउन ५४ सदस्य आवश्यक पर्छ । जनमतले लोसपाको नेतृत्वमा सरकार बनाउन कांग्रेस–एमालेको साथ छाडेपछि सहमति तोडिएको हो ।
जमतबाट मुख्यमन्त्री बनेका सतिसकुमार सिंहले मंगलबार राजिनामा दिएका थिए । उनले बुझाएको राजिनामाको पत्र प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले हिजै स्वीकृत गरेर नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेकी थिईन् ।

वि.सं.२०८२ असोज २९ बुधवार ११:००

















