नयाँ पुस्तालेचासो राख्न छाडेपछि लोपोन्मुख हुँदै होलीको जोगिरा
वि.सं.२०७९ फागुन २३ मंगलवार ०९:१०

काठमाडौं, फागुन २३ गते । नयाँ पुस्ताले खासै चासो राख्न छाडेपछि तराईमा होलीको जोगिरा लोपोन्मुख अवस्थामा पुगेको छ । जोगिरा गाउने पुराना पुस्ताका अधिकांशको मृत्यु भइसकेका र केही वृद्ध अवस्थामा पुगिसकेकाले जोगीरा लोपोन्मुख हुन थालेको जछ । पछिल्लो समय नयाँ पुस्ताले यसबारे खासै चासो नदिएको देखिएको छ ।
तिथिमिति सम्झना नराख्नेका लागि पनि होली सुरु भएछ भन्ने सन्देश दिने मृदङ्ग, मजिरा, करताल, हारमोनियम र डफला -एक प्रकारको डम्फू- का तालमा सुनिने जोगिरा गीत एक दशकयता विस्तारै लोपोन्मुख हुँदै गएको छ । आपसी सद्भाव, भातृत्व र उमङ्गको प्रतीकको रुपमा रहेको होली पर्वमा गीतबाटै गरिने छेडखानी, प्रेमयुक्त भाव आदानप्रदानको माध्यम पनि हो जोगिरा । होलीको मुख्य गहनाका रुपमा रहेको जोगिरा सुनिन छाडिएपछि यो पर्व अहिले रङ र अविरमा मात्र सीमित हुँदै गएको छ ।
सामाजिक छुवाछूत, जातीय भेदभाव, व्यक्तिगत रिसराग बिर्सिएर भातृत्व भाव र समानताको सन्देश दिन होलीलाई रमाइलो पर्वका रुपमा मनाउने परम्परा छ । पौराणिक कथाअनुसार सत्ययुगमा राजा हिरण्यकश्यपु ज्यादै अत्याचारी राजा भएकाले आफूलाई देवताभन्दा ठूलो हुँ भन्ने घमण्ड गर्थे । उनका छोरा प्रह्लाद भगवान् विष्णुका परमभक्त थिए । हिरण्यकश्यपुले छोरा प्रह्लादलाई विष्णु भक्तिबाट अलग गराउन होलिकासँगै आगोमा जलाउँदा होलिका डढेर भष्म भइन् भने प्रह्लादलाई केही प्रभाव परेन । सोही परम्परालाई निरन्तरता दिँदै हिन्दू समाजमा फागुण शुक्ल पूर्णिमाको रातमा होलिकाको दहन गरी हर्ष बढाइँ गर्ने चलन रहिआएको छ ।
वि.सं.२०७९ फागुन २३ मंगलवार ०९:१०

















