शोभा पोखरेलको कविता : पानी
वि.सं.२०७९ जेठ २२ आइतवार १५:४७

तिम्रो मदिराको चुस्की सॅगै घुलेर हराउन हैन,
सधै शान्त रारा ताल बनेर ,
जमिरहन पनि त सक्दिन ।
हो, म पानी हुॅ,
बग्छु निरन्तर आफ्नै धर्ममा !!
पहाड बनेर फोडीन्छौ शान्त सतहमा जब
खहरे बनेर उर्लनै पर्छ मैले,
सङ्लो मनमा फोहोरका डङ्गुरहरू थुपार्छौ
अनि पो,
विद्रोह ऊराल्दै किनारा काटेर बग्नु पर्छ मैले।
हो, म पानी हुॅ,
शुद्ध, शान्त सॅधै तिम्रो कोश कोशमा रस भरिदिने
सक्दैनौ शुद्धता जोगाउन यदी भने
बिशक्तता त सहनै पर्छ ।
थुन्छौ मूहान जब,
बग्ने बाटो खोज्नु पर्छ,
प्रहार गर्छौ समर्पणमा निरन्तर भने
बिद्रोह बोलेर पनी बग्नु पर्छ ।
मलाई त शान्त बग्न,
तिम्रो छातिको समथर सिरानी चाहिन्छ,
चट्टान बिछ्याऊॅछौ पाईला पाईलामा
अनि पो खहरे बनेर ऊर्लिनु पर्छ मैले ।
चोटमा नृत्य देखेर झरनामा रमाऊने तिमी,
खहरे बनेर बग्दा म भित्र मैलो देख्ने तिमी,
भो , जेसुकै नाम देऊ मलाई
म त पानी हुॅ,
सङ्लो राख्न तन मन,
निरन्तर बगिरहन्छु,
जमेको तलाउमा रमाऊने तिमीलाई
म नदी बनेको मन नपर्न पनी सक्छ ।
तर म त पानी हुॅ,
बग्छु निरन्तर आफ्नै बहावमा ।
-गठ्ठाघर, मध्येपुर ठिमि, भक्तपुर
वि.सं.२०७९ जेठ २२ आइतवार १५:४७

















