फौजदारी अपराध संहिता कार्यविधि संशोधन गर्ने अध्यादेश तत्काल रोक्न कमल थापाको माग
वि.सं.२०७९ मंसिर २६ सोमवार १६:२३

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले फौजदारी अपराध संहिता कार्यविधि संशोधन गर्ने अध्यादेश तत्काल रोक्न माग गरेका छन् ।उनले नयाँ संसदको बैठक बस्ने पूर्वसन्ध्यामा गम्भीर आपराधिक घटनाका अभियुक्तहरुलाई उन्मुक्ति दिने गरी सरकारले ल्याउन खोजेको अध्यादेशप्रति आपत्तिजनक जनाउँदै तत्काल रोक्न माग गरेका हुन् ।
‘सत्ता स्वार्थका निम्ति नयाँ संसदको बैठक बस्ने पूर्वसन्ध्यामा गम्भीर आपराधिक घटनाका अभियुक्तहरुलाई उन्मुक्ति दिनेगरी सरकारले ल्याउन खोजेको अध्यादेश घोर आपत्तिजनक छ । लोकतन्त्रको खिल्ली उडाउने यस्ता कार्य तत्काल रोक्न राप्रपा नेपाल माग गर्दछ,’ थापाले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
जेलमा रहेका रेशम चौधरी, सिके राउतको जनमत पार्टी र नेत्रविक्रम चन्द विप्लवका नेताविरुद्ध अदालतमा विचाराधीन मुद्दामा हस्तक्षेप गर्न सरकारले फौजदारी अपराध संहिता कार्यविधि संशोधन गर्ने अध्यादेश ल्याउने आइतबार निर्णय गरेको थियो ।
वि.सं.२०७९ मंसिर २६ सोमवार १६:२३

















