कविता : गुनासाे

वि.सं.२०७८ साउन ३० शनिवार १०:००

शंकर ढकाल
लुकी काेठाभित्रै किन कु-फल भाेग्दैछु अहिले दिए झैँ झन् माया बुझिनँ नि दियाै श्राप कहिले ।
मलाई नै त्यागी सुखसित गयाै स्वर्ग सजिन भजूँ धर्तीमाता अझ म जननी हुन् हरदिन ?
०००००००००
दियाै छायाँलाई छलसित पिता कष्ट अतुल गरेँ केमा गल्ती भन त कसरी प्रष्ट छ भुल ?
अँध्याराे नै छायाै मनभरि मलाई दिन डर उज्यालाे खै मानूँ अझ म भगवान् हुन् दिनकर ?
०००००००००
तिमीमा नै मेराे दिनदिन बढ्याे भक्ति प्रबल रिसाई एकै छिन् किन हरिदियाै शक्ति सफल ।
मलाई के काे खै गुणऋण दियाै अन्त्य समय अरूले के भन्लान् नमन गुरुजी भन्नु छ भय
०००००००००
स्वयं बाटाे पायाै अनुज पनि जिद्धी किन गरी सुतायाेै चिन्ताकाे छलसित चितामा दिनभरि ।
भनूँ स्वार्थीकाे झन् अब हृदयले नाम नलिऊँ बिना खाँचाे साँचाे किन र कसरी प्रेम म दिऊँ ?
०००००००००
छ के मेराे स्वप्ना ! अनि कति गरेँ पूर्ण अहिले अहाे! भन्दै साेधूँ मनसित स्वयं प्रश्न कहिले ।
कसैकाे आँखामा पनि म धनले बन्दिनँ धनी गुनासाे हाे! काेही भन किन सकेँ जन्मिन पनि ?
-तानसेन,पाल्पा हाल:- सिलिगुडी,भारत

वि.सं.२०७८ साउन ३० शनिवार १०:००