राप्रपामा पशुपति शम्शेर राणा भाग्यमानी !
गोप्य मतदानबाट छानियो समानुपातिको पहिलो नम्बर
वि.सं.२०७९ असोज १० सोमवार २२:५०

काठमाडौं–राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) मा पूर्वअध्यक्ष पशुपतिशमशेर राणा भाग्यमानी सावित भएका छन् ।
पार्टी महाधिवेशनमा खुलेर साथ नदिएपनि राणा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको रोजाईमा पर्दै निर्वाचन आयोगमा बुझाएको समानुपातिकको खसआर्यतर्फ पहिलो नम्बरमा पुगेका थिए ।
पार्टीले बुझाएको सूचीमा राणाको नाम पहिलो नम्बरमा राखिएको खबर बाहिरिएपछि अर्का पूर्व अध्यक्ष एवं महाधिवेशनमा खुलेर साथ दिएका डा. प्रकाशचन्द्र लोहनी असन्तुष्टि बाहिरिएको थियो ।
यता राप्रपाले निर्वाचन आयोगमा बुझाएको सूचीमा खसआर्य पुरुषमा ‘डमी’ उम्मेदवारको नाम राखिएको जनाएको छ । त्यसैले अब को पहिलो नम्बरमा हुने भन्ने विषयले राप्रपामा विवाद उत्पन्न भएको छ । पूर्वअध्यक्षद्वय राणा र लोहनी दुबै खासर्यको पहिलो नम्बरमा बस्न चाहेपछि विवाद भएको हो । आइतबार पदाधिकारी बैठकमा पनि यसबारे छलफल भएको थियो । तर सहमति जुट्न सकेन ।
पहिलो नं. छान्न मतदान
निर्वाचन आयोगले असोज १४ गतेभित्र समानुपातिक तर्फको बन्द सूची सच्याइसक्न दलहरुलाई आग्रह गरेको छ । आयोग स्रोतका अनुसार ६ वटा राष्ट्रिय दललाई १४ गतेभित्र समानुपातिक बन्द सूची सच्याइसक्न भनिएको छ । अन्य दलहरुलाई १६ गतेसम्म समय दिइएको छ ।
आयोगले दिएको समयसीमाभित्र समहमति जुट्ने छाँटकाट नदेखिएपछि पहिलो नम्बरमा को बस्ने भन्ने विवाद मतदानबाट टुंग्याएको छ । सोमबार कार्यसम्पादन समितिको बैठकमा गोग्य मतदान गरेर नाम टुंग्याएको हो ।
विवाद टुंग्याउन सोमबार पनि विभिन्न विकल्पमा छलफल भएको थियो । कार्यसम्पादन समितिका बहुसंख्यक सदस्यले गोप्य मतदानबाट पहिलो नम्बरमा को बस्ने भन्ने निर्णय गर्ने प्रस्ताव राखेपछि अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वअध्यक्षद्वय राणा र लोहनीस“ग छलफल गरेका थिए ।
दुबैले परिणाम स्वीकार गर्ने बताएपछि मतदान भएको थियो । ३१ सदस्यीय कार्यसम्पादन समितिको सोमबारको बैठकमा २४ जना मात्र उपस्थित थिए । राणा र लोहनी मतदानअघि नै बैठकबाट बाहिरिए भने अध्यक्ष लिङ्देनले मतदानमा भाग लिएनन् । बराबर मत आए मात्र मतदान गर्ने उनले बताएका थिए ।

भाग्यमानी पशुपति
मतदानको नतिजामा राणाले बाजी मारेका छन् । उनले ११ मत पाउँदा डा. लोहनीको ९ मत मात्र पाए । अब राप्रपाको समानुपातिकको बन्दसूचीमा खसआर्य पुरुषको पहिलो नम्बरमा राणाको नाम हुने एक पदाधिकारीले जानकारी दिए ।
वि.सं.२०७९ असोज १० सोमवार २२:५०

















