देशको आधा आँप उत्पादन गर्ने मधेशमा राष्ट्रिय आँप केन्द्रका लागि दोस्रो गोष्ठी
वि.सं.२०८२ साउन २० मंगलवार २२:४३

धनुषा-देशको कुल उत्पादनको आधाभन्दा बढी आँप उत्पादन गर्ने मधेश प्रदेशलाई राष्ट्रिय स्तरको मान्यता प्राप्त आँप केन्द्र बनाउन ‘आँप सम्बन्धी विचार गोष्ठी’ दोस्रो पटक हुँदैछ।
साउन २२ गते धनुषाको लालगढस्थित गौतम होटलमा आयोजना हुने एकदिने उक्त गोष्ठीमा किसान, उद्यमी, अनुसन्धानकर्ता, बजारकर्ता, नीति निर्माता, अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधि, वित्तीय संस्था, शिक्षाविद् तथा निजी क्षेत्रका सरोकारवालाहरू सहभागी हुनेछन्।
गोष्टीलाइ कृषि तथा पशुपन्छी विकास मन्त्रालय, भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालय (मधेश), इसिमोड, एफएओ नेपाल, सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल, आर एण्ड डी इनोभेटिभ सोलुशन प्रालि र नेपाल बागवानी समाजको सहकार्यमा आयोजना गरिएको हो।
आयोजकका अनुसार गोष्ठीको उद्देश्य मधेश प्रदेशमा आँप उद्योगको वर्तमान अवस्था र भविष्यको सम्भावनाबारे बहस गर्दै जलवायु–प्रतिरोधी खेती अभ्यास, मूल्य अभिवृद्धि, उद्यमशीलता र बजार पहुँच सुधारमार्फत आँप क्षेत्रलाई विस्तार गर्नु हो।
कार्यक्रममा भारतको आँप उद्योगको अनुभवबारे मुख्य प्रस्तुतीकरण, विशेषज्ञ वार्ता, प्रदर्शनी तथा अन्तरक्रियात्मक छलफल सत्र रहने छन्।
अष्ट्रेलियाली सरकारले HI–GRID परियोजनामार्फत समर्थन गरेको यो पहलले नेपालको तल्लो कोशी नदी बेसिनमा दिगो र समावेशी कृषि अभ्यास प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ।
आयोजकले यस गोष्ठीबाट प्राप्त सुझावले मधेश प्रदेशलाई राष्ट्रिय आँप केन्द्रका रूपमा स्थापित गर्ने दिशामा मार्गचित्र तय गर्ने अपेक्षा राखेका छन्।
वि.सं.२०८२ साउन २० मंगलवार २२:४३
















