सर्लाहीको मुर्तिया जंगलमा धारिलो हतियार प्रहार गरी युवकको हत्या
वि.सं.२०७९ वैशाख १७ शनिवार २२:५५

काठमाडौं । सर्लाहीको हरिपुर नगरपालिका–१, स्थित मुक्तेश्वर सामुदायिक वनमा शनिबार धारिलो हतियार प्रहार गरी एक युवकको हत्या भएको छ ।
मुक्तेश्वर सामुदायिक वन क्षेत्रभित्र पर्ने बागमती सिँचाईको नहरमा रौतहटको गुजरा नगरपालिका ५ का अन्दाजी ३१ वर्षीय विष्णुसिंह घिसिङको हत्या भएको हो ।
घिसिङको घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको सर्लाही प्रहरीका प्रवक्ता डीएसपी माधव प्रसाद बुढथोकीले बताए ।
मृतकको शव घटनास्थलबाट पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ । घिसिङ रौतहटबाट मूर्तियास्थित आफन्तको घरमा आएको भन्ने खुलेपनि विस्तृत विवरण खुल्न बाँकी रहेको प्रहरीले बताएको छ ।
घटनाको अनुसन्धान र अपराधमा संलग्नहरुको खोजी गर्न इलाका प्रहरी कार्यालय बरहथवाबाट डीएसपी उमाशंकर प्रसाद यादव नेतृत्वको प्रहरी टोली परिचालन भइसकेको छ । शनिबार अपरान्ह साँढे ४ बजेतिर हत्याको घटना जानकारी पाउनासाथ डीएसपी यादव नेतृत्वको प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।
सर्लाही प्रहरीका प्रमुख (एसपी) प्रविण पोखरेलले घटनास्थलमा जनकपुरबाट तालिम प्राप्त कुकुर झिकाइएको बताए । उनले घटनामा संलग्न रहेको हुन सक्ने आशंकामा केही व्यक्तिविरुद्ध प्रहरीले निगरानी बढाइसकेको बताएका छन् ।
वि.सं.२०७९ वैशाख १७ शनिवार २२:५५

















