चाँगुनारायण नगरपालिकामा अवैध बालुवा खानी सञ्चालन
वि.सं.२०७८ माघ २२ शनिवार १८:५६

काठमाण्डौं । भक्तपुरको चाँगुनारायण नगरपालिकामा अवैध रुपमा बालुवा खानी सञ्चालन भइरहेको छ ।
साढे पाँच रोपनी घडेरी खार्ने बहानामा ५० रोपनीभन्दा बढी जग्गामा अवैध रूपमा बालुवा खानी सञ्चालन भईरहेको हो ।
चाँगुनारायण नगरपालिका–४ का व्यवसायी विदुर आलेले नेतृत्व गरेको सिमन एण्ड सिमन प्रालिले साढे पाँच रोपनी जग्गा घडेरी खार्ने बहानामा ५० रोपनीभन्दा बढी जग्गामा बालुवा र माटो खानी सञ्चालन गरेका हुन् ।
कम्पनीले गत वर्षदेखि नै चाँगुनारायण नगरपालिका–४ साविकको चाँगुनारायण गाविस वडा नं ९ मा रहेको कित्ता नम्बर १०९५ को दुई रोपनी ११ आना एक पैसा र कित्ता नम्बर १०९६ को पनि सोही क्षेत्रफल बराबरको गरी कुल पाँच रोपनी ६ आना दुई पैसा जग्गामा घडेरी खार्ने भनी नगरपालिबाट स्वीकृत लिई खानी सञ्चालन गरेको छ ।
पाँच रोपनी मात्र घडेरी जग्गा खार्ने भनी नगरपालिकाबाट अनुमति लिएको स्थानमा अहिले कुनै ठूलो राष्ट्रिय गौरवको आयोजना निर्माण हुन लागेको जस्तै गरी बालुवा र माटोको अवैध उत्खनन भइरहेको छ ।
स्थानीय सरकार मौन
अवैध रुपमा सञ्चालन भईरहेको खालीको विषयमा स्थानीय सरकार मौन देखिएको छ । जग्गामा रहेको खाल्डा पुर्ने काम एक वर्षमा पनि नसकिएको भन्दै चाँगुनारायण नगरपालिका नगरकार्यपालिकाको गत ८ कात्तिक र नगरपालिका कार्यालयको गत २२ कात्तिकको निर्णयले कम्पनीलाई २०७९ जेठ मसान्तसम्म घडेरी खार्ने समयावधि थप गरेको छ ।
मिलेमतोको आशंका
साढे पाँच रोपनी जग्गा सम्याउन वर्ष दिन बित्दासमेत अनुगमन नै नगरी सात महिना म्याद थप हुनु स्थानीय सरकारको नेतृत्व गरिरहेका जनप्रतिनिधिकै मिलेमतोमा अवैध खानी सञ्चालन भइरहेको देखिन्छ ।
हाल खानी सञ्चालन भइरहेको स्थानमा वडा नम्बर ४ कै वडाध्यक्ष बुद्धिलाल महर्जनको समेत जग्गा प्रयोग भएको स्थानीयको दाबी छ । तर, वडाध्यक्ष महर्जनले भने खानी सञ्चालनको विषयमा अनविज्ञता प्रकट गर्दै सो स्थान आफ्नो नभई माइला र कान्छा काकाको जग्गा भएको बताए ।
मेयर मिश्रको अस्वीकार
चाँगुनारायण नगरपालिकाका मेयर सोम मिश्रले २०७२ सालपछि नगरपालिकाभित्र कुनै पनि खानी सञ्चालन नभएको दाबी गरेका छन् ।
उनले नगरपालिकाले निर्माण गर्न लागेको खेल मैदानको ठेकेदार कम्पनी आगन्जा कन्स्ट्रक्सन प्रालि र २०७२ सालअघि सञ्चालन भएका बालुवा खानी रहेका जग्गा सम्याउन भनी जग्गा धनीको माग आएको स्थानमा तीनजना व्यक्तिलाई बाहेक माटो र बालुवा बिक्री वितरणमा पूर्णरूपमा रोक लगाएको पनि दाबी गरे ।
वि.सं.२०७८ माघ २२ शनिवार १८:५६
















