नगर विकास कोष : हेटौंडा र हरिवन उत्कृष्ट नगरपालिका घोषित
वि.सं.२०७८ फागुन ३ मंगलवार ०९:१९

काठमाण्डौं । नगर विकास कोषले देशभरबाट दुई वटा नगरपालिकालाई उत्कृष्ट घोषणा गरेको छ । कोषको ३४ औ वार्षिकोत्सवको अवसरमा हेटौंडा उपमहानगरपालिका र हरिवन नगरपालिकालाई उत्कृष्ट नगरपालिका घोषणा गरेको हो ।
कोषले नगरपालिकालाई नयाँ र पुरानो गरि दुई वटा छनौंट गरेको हो । पुरानोतर्फ बागमति प्रदेशको मकवानपुर जिल्लाको हेटौडा र नयाँतर्फ मधेस प्रदेश प्रदेशको सर्लाही जिल्लाको हरिवनलाई उत्कृष्ट घोषित गर्दै सम्मान गरेको हो ।
कोषको बजेटको कार्यसम्पादन तथा व्यवस्थापनतर्फ उत्कृष्ट कार्य गरेबापत शहरी विकास मन्त्री रामकुमारी झाक्रीले कदर–पत्र प्रदान गरेकी थिईन् । नयाँतर्फ सम्मानित हरिवन नगरपालिकाको तर्फबाट उपप्रमुख रेणुका पौडेलले सम्मानपत्र ग्रहण गरिन् ।
खानेपानी संस्थालाई सम्मान
कोषले खानेपानी उपभोक्ता संस्था र उत्कृष्ट कर्मचारीलाई पुरष्कृत गरेको थियो । कोषले सन् २०१० अघि र त्यसपछिको एक÷एक आयोजनालाई सम्मान गरेको हो । खानेपानी उपभोक्ता संस्थातर्फ सितलपाटी खलङ्गा खानेपानी उपभोक्ता संस्था र बिर्तामोड खानेपानी उपभोक्ता संस्था रहेका थिए । साना सहरी खानेपानी आयोजना सञ्चालन भएको छ । देशभरका ८८ वटा नगरपालिका र एक सय बढी खानेपानी संस्थामा लगानी गर्दै आएको छ ।
कोषको कुल लगानीको ६० प्रतिशत खानेपानी क्षेत्रमा रहेको छ । बिर्तामोड साना खानेपानी ८ हजार उपभोक्तालाई २४ घण्टा पानी वितरण गर्दै आएको छ ।
उत्कृष्ट कर्मचारी अवार्ड नगर विकास कोषका अधिकृत मानबहादुर पुन ५० हजार चेकसहित सम्मान सम्मानित भएका छन् । उनी २५ वर्षदेखि कोषमा कार्यरत छन् । त्यस्तै साहेक हरकुश बोहोरा सम्मानित भएका थिए । त्यसैगरि कोषले कोषका पूर्व कार्यकारी निर्देशक तथा शहरी विकास मन्त्रालयका पूर्व सचिव मधुसुदन अधिकारीलाई सम्मान गरेको छ ।

कार्यक्रममा मन्त्री झाक्रीले कोषको वार्षिक प्रतिवेदनसमेत सार्वजनिक गरेकी थिइन् । नगरपलिकाहरुमा ऋण लगानी गर्दै पुर्वाधार निर्माणमा साझेदार रहदै आएको छ ।
वार्षिकोत्सव समारोहमा मन्त्री झाक्री, मन्त्रालयका सचिव मनि राम गेलाल, कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटा, राष्ट्रिय प्राकृतिक तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेल, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक तिरेश प्रसाद खत्री, शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पद्म कुमार मैनाली, नेपाल नगरपालिका संघ तथा धुलिखेल नगर प्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठ, स्वतन्त्र कर्मचारी युनियनका अध्यक्ष जगतप्रसाद घिमिरे लगायत सहभागि थिए ।
मन्त्रीले के भनिन्
शहरी विकास मन्त्री रामकुमारी झाक्रीले नगर विकास कोष अझ सुदृढ हुन आवस्यक रहेको बताएकी छन् ।
झाक्रीले राजनीतिक स्वार्थ र भोट बैंकका लागि पालिकाहरुले मन्त्रालयसम्म आएर आयोजना माग गर्ने गरेको बताउँदै उनले त्यसता कार्यलाई मन्त्रालयले कदापि स्वीकार नगर्ने बताइन् । चुनाव नजिकिदै गर्दा मतदातालाई खुशी पार्न माग हुने गरेका आयोजनालाई स्वीकृती नगर्दा आफ्नै पार्टिमा पनि आलोचना हुने गरेको उनले बताइन् ।
वि.सं.२०७८ फागुन ३ मंगलवार ०९:१९

















