असोज ११ देखि दशैँका लागि अग्रिम टिकट बुकिङ खुल्ने

वि.सं.२०७८ असोज ८ शुक्रवार ०६:०४

काठमाडौँ : काठमाडौँ उपत्यकाबाट दशैंमा घर जानेहरुका लागि असोज ११ गतेदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुलाइने भएको छ।
यातायात व्यवस्था विभागले बिहीवार यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि असोज ११ गतेदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको हो।
यातायात व्यवसायीले सडक मर्मत गरेर मात्र दशैँको अग्रिम टिकट खोल्नुपर्ने माग राख्दै आएका भए पनि सडक मर्मत गर्ने वचनपछि टिकट खुलाउन सहमत भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए।
बैठकमा उपत्यका ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालले दशैँमा सार्वजनिक सवारी साधन कसरी सञ्चालन गर्ने भनेर अहिलेसम्म भएका तयारीबारे जानकारी गराएका थिए ।
प्रवक्ता भुसालले यही असोज ११ गतेदेखि दशैँका लागि अग्रिम टिकट बिक्री खुला गर्ने र १४ स्थानमा यात्रु सहायता कक्ष राख्ने निर्णय भएको बताए ।
बसको टिकट अनलाइनमा काट्ने व्यवस्था मिलाउन प्रयास भइरहेको पनि उनले जानकारी दिए ।
‘यात्रु सहायता कक्ष’ सञ्चालन
काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा आएको छ ।
बडा दशैँ, शुभ दीपावली तथा छठ पर्वलाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखा र लोत्से बहुउद्देश्यीय प्रालिले संयुक्तरूपमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा ल्याएका हुन् ।
विहिबार देखि सुरु भएको ‘यात्रु सहायता कक्ष’को लोत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष इञ्जिनीयर दिपक कुँवरले शुभारम्भ गरे ।
कार्यक्रममा इञ्जिीनियर कुँवरले नयाँ बसपार्कसँगै देशको सबै प्रदेशसँग सञ्जाल जोडिएको भन्दै चाडबाडमा हुनसक्ने चोरी, ठगी, लुटपाट नियन्त्रण र यात्रुलाई सहजरूपमा गन्तव्यस्थलसम्म जाने वातावरण निर्माणमा ‘यात्रु सहायता कक्ष’बाट सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

वि.सं.२०७८ असोज ८ शुक्रवार ०६:०४