अखिल क्रान्तिकारीको बन्दसत्र आजदेखि, को आउलान् नेतृत्वमा ?

वि.सं.२०७८ असोज १५ शुक्रवार १०:२०

काठमाडौं : माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन अन्तर्गत शुक्रबारदेखि बन्दसत्र सुरु हुने भएको छ ।
अखिल क्रान्तिकारीकी उपाध्यक्ष पन्चा सिंहले दिउँसो १२ बजेदेखि कार्की पार्टी प्यालेसमा बन्दसत्र सञ्चालन हुने तय भएको जानकारी दिइन् ।
बन्दसत्रमा संगठनको कार्यनीतिदेखि लिएर विद्यार्थीका मुद्दा र एजेण्डाका विषयमा व्यापक छलफल हुनेछ । यसअघि बिहीबार प्रज्ञा भवन कमलादीमा क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबाट भएको थियो । सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले सहमतिमै नेतृत्व चयनमा जोड दिएका थिए ।
नेतृत्वको चाहना नै सहमतिबाट नेतृत्व चयन गर्ने भएकाले करिब आधा दर्जन दावेदारबाट एक जना नेतृत्वमा सहमतिमा चयन गर्न प्रयास हुनेछ ।
यी हुन दाबेदार
अखिलको नेतृत्वका लागि वर्तमान उपाध्यक्ष सुरेन्द्र बस्नेत र पन्चा सिंह मुख्य दौडमा छन् ।
यस्तै, हालसम्म महासचिव उत्तम अधिकारीसहित तिलकराज भण्डारी, दीपक देवकोटा र विजय गौतम पनि अध्यक्षको आकांक्षी देखिएका छन् । उनीहरु मध्येबाट सहमति जुटाएर एक जना नेतृत्वमा आउनेछन् ।
नयाँ नेतृत्व चयन गर्दै सम्मेलन शनिबार सम्पन्न गर्ने तयारी छ ।

वि.सं.२०७८ असोज १५ शुक्रवार १०:२०