स्रोत नखुलेको साढे १५ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ
वि.सं.२०७८ असोज १५ शुक्रवार १९:५२
काठमाडौँ : साढे १५ लाख स्रोत नखुलेको रकमसहित शुक्रबार वीरगञ्जमा तीनजना पक्राउ परेका छन् । पक्राउ परेकामध्ये दुई जना भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ ।
भारतको बिहार राज्यको पूर्वी चम्पारण जिल्लाको थाना कंगेली–१ वसन्तपुरका २५ वर्षीय विक्रम पटेल, मोतिहारी थाना पलनवा भेलाहीका २९ वर्षीय मुकेश पटेल र पर्सा धोविनी गाउँपालिका–३ हरिहरपुरका २३ वर्षीय बलिराम पटेललाई रकमसहित पक्राउ गरिएको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार सो रकम हुण्डीको भएको अनुमान छ । हुण्डी कारोबार भएको सूचना पाएपछि प्रहरीले उनीहरुलाई वीरगंज–२५ सिर्सियास्थित छोटी भन्सार नजिकैबाट नियन्त्रणमा लिएको हो ।
उनीहरुले सो रकम उनीहरुले हेल्मेटमा लुकाएर राखेका थिए । प्रहरीले रकम फेला पारेपछि स्रोत खुलाउन भनेको थियो । तर, उनीहरुले सो रकमको स्रोत खुलाउन नसकेपछि प्रहरीले उनीहरुलाई नियन्त्रण लिएको हो ।
वि.सं.२०७८ असोज १५ शुक्रवार १९:५२