अपडेटः बाढीपहिरामा परी मृत्यु हुनेको संख्या ५२ पुग्यो, २९ बेपत्ता
वि.सं.२०७८ कात्तिक ३ बुधवार १८:१४

काठमाडौँ : मुलुकका विभिन्न क्षेत्रमा परेको भारी वर्षापछि आएको बाढी पहिरो र डुबानमा परेर आज मध्याह्नसम्म ५२ जनाले ज्यान गुमाएका छन् । विभिन्न जिल्लामा २९ जना बेपत्ता भएका छन् ।
गृह मन्त्रालयका अनुसार मृत्यु हुनेमा सबैभन्दा बढी इलाममा ११ र डोटीमा नौजना छन् । दुई जिल्लामा पहिराले मानवीय क्षति गराएको हो ।
त्यसपछि पहिरामा परी हुम्ला, धनकुटा र पाँचथरमा छ/छजनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । यस्तै बझाङ्ग र बैतडीमा चार/चार, कालीकोटमा एक, डडेलधुरामा एक, प्यूठानमा एक, सुनसरीमा दुई र उदयपुरमा एकजनाको मृत्यु भएको हो
बझाङको खप्तड छन्ना गाउँपालिकामा गएको दुईवटा पहिरोमा परी ४ जनाको मृत्यु भएको छ । पहिरामा परेर सबैभन्दा बढी बझाङ्मा २३ जना बेपत्ता भएका छन् । उनीहरु मध्ये दुई जनाको शव फेला परेको छ । शवको पहिचान भने भइसकेको छैन् । यस्तै डोटीमा एक, प्यूठानमा दुई, इलाममा पाँचजना बेपत्ता छन् ।
विभिन्न जिल्लामा अहिलेसम्म २३ जना घाइते भएका छन् । असोज ३१ गतेदेखि मुलुकका विभिन्न क्षेत्रमा पानी पार्ने प्रणाली सक्रिय भएको थियो ।
यो क्रम आज पनि जारी छ । हराएकाहरुको खोजी कार्य र फसेकाहरुको उद्धार कार्य जारी रहेको गृहमन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका प्रमुख हुमकला पाण्डेले जानकारी दिइन ।
वि.सं.२०७८ कात्तिक ३ बुधवार १८:१४
















