राष्ट्रियसभा सदस्य उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने
१९ सिटका लागि ५२ जनाको उम्मेदवारी
वि.सं.२०८० पुस २४ मंगलवार ०९:११

काठमाडौँ– निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि हिजो उम्मेदवारी दिएकाविरुद्ध आज दाबीविरोध तथा उजुरीका लागि समय दिएको छ ।
आगामी माघ ११ गते हुने निर्वाचनका लागि हिजो उम्मेदवारी दर्ता गराएका ५२ जना उम्मेदवारविरुद्ध आज उजुरी दिने कार्यतालिका रहेको आयोगले जनाएको छ ।
उम्मेदवारविरुद्ध परेको उजुरीमा पुस २५ र २६ गते जाँचबुझ गरी उम्मेदवारको नामावली प्रकाशन हुनेछ । त्यसपछि पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिन चाहेमा फिर्ता लिन सक्नेछन् । सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ ।
आयोगले पुस २८ गते उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गर्नेछ । माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । मतदानका लागि २०४७ मतदाता रहेका छन् ।
१९ सिटका लागि ५२ जनाको उम्मेदवारी
राष्ट्रियसभामा रिक्त हुने १९ सिटका लागि ५२ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ । निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी दर्ताको दिन हिजाे १९ सिटमा ५२ जनाको उम्मेदवारी दर्ता गरेका थिए ।
निर्वाचन आयोगका अनुसार सातै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ ५, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदायतर्फ ८ र अन्य समूहतर्फ २१ गरी जम्मा ५२ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ ।
कोशी प्रदेशमा महिला समूहका लागि २ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि ३ राजनीतिक दलका तर्फबाट ५ जनाको मनोनयन दर्ता भएको छ ।
मधेश प्रदेशमा पनि महिला समूहका लागि २ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि ३ राजनीतिक दलका तर्फबाट जम्मा ५ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको आयोगले जनाएको छ ।

बागमती प्रदेशमा महिला समूहका लागि ४ राजनीतिक दलका तर्फबाट, दलित समूहका लागि ३ राजनीतिक दलका तर्फबाट, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायका लागि ४ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि ४ राजनीतिक दलका तर्फबाट जम्मा १५ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ ।
गण्डकी प्रदेशमा महिला समूहका लागि ३ राजनीतिक दलका तर्फबाट, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदायका लागि २ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि ३ राजनीतिक दलका तर्फबाट जम्मा ८ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ ।
लुम्बिनी प्रदेशमा महिला समूहका लागि ३ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि ४ राजनीतिक दलका तर्फबाट जम्मा ७ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ ।
कर्णाली प्रदेशमा महिला समूहका लागि २ राजनीतिक दलका तर्फबाट, दलित समूहका लागि २ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि २ राजनीतिक दलका तर्फबाट जम्मा ६ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ ।
सुदूरपश्चिम प्रदेशमा महिला समूहका लागि २ राजनीतिक दलका तर्फबाट, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदायका लागि २ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि २ राजनीतिक दलका तर्फबाट जम्मा ६ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ ।
आगामी माघ ११ हुने राष्ट्रियसभा निर्वाचनका पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २५ र २६ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी नामावली प्रकाशित गर्ने, पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने तथा अन्तिम नामावली प्रकाशन गर्ने र पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न वितरण हुनेछ ।
वि.सं.२०८० पुस २४ मंगलवार ०९:११
















