तातोपानी नाकाबाट भेप तस्करी : ५६ लाखभन्दा बढीका १,६२० थान भेपसहित ७ जना पक्राउ
वि.सं.२०८३ जेठ २ शनिवार १६:३७

सिन्धुपाल्चोकको तातोपानी नाकाबाट ठूलो परिमाणमा अवैध रूपमा ल्याइँदै गरेको विद्युतीय चुरोट (भेप) सहित सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाल–चीन सीमावर्ती क्षेत्र भोटेकोशी गाउँपालिका–३ गंजेखोलाबाट प्रहरीले करिब ५६ लाख ७० हजार रुपैयाँ बराबरका १ हजार ६ सय २० थान भेप बरामद गरेको हो ।
प्रहरीका अनुसार भेपहरू ९ वटा बोराले छोपेर काटुनभित्र लुकाइछिपाइ जंगलको भित्री बाटो हुँदै नेपाल भित्र्याइँदै थियो । चीनतर्फको जंगल क्षेत्र पार गरेर बोक्चेन हुँदै कोदारी राजमार्गसम्म ल्याउने तयारी भइरहेका बेला विशेष अपरेशनमार्फत प्रहरीले उक्त सामान नियन्त्रणमा लिएको जनाएको छ ।
ईलाका प्रहरी कार्यालय कोदारीका प्रहरी निरीक्षक जगतबहादुर राईको नेतृत्वमा खटिएको टोलीले गोप्य सूचनाका आधारमा अपरेशन सञ्चालन गरेको थियो । पक्राउ पर्नेहरूमा भोटेकोशी गाउँपालिका–४ का गणेश खड्का, हिमाल खड्का, विकास विक, रामबहादुर विक, विशाल रक्पाल, मंगलबहादुर थामी तथा बाह्रबिसे नगरपालिका–५ का कान्छा तामाङ रहेका छन् ।
प्रहरीले पक्राउ परेकाहरू भरिया मात्रै हुन सक्ने प्रारम्भिक अनुमान गर्दै घटनाको थप अनुसन्धान जारी रहेको जनाएको छ । बरामद गरिएको भेप भन्सार कार्यालयमा बुझाइने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयको सिफारिसपछि भेप आयातमा प्रतिबन्ध लगाइएपछि तातोपानी नाकाबाट अवैध तस्करी बढ्दै गएको प्रहरीको भनाइ छ । सीमा क्षेत्रमा हुने यस्ता गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरी बलले समेत गस्ती कडा बनाएको जनाएको छ ।
वि.सं.२०८३ जेठ २ शनिवार १६:३७
















