चिसो बढ्यो : काठमाडौंको तापक्रम ३ दशमलव २ डिग्रीमा झर्यो
वि.सं.२०७८ माघ १५ शनिवार ०७:१२

काठमाडौं : काठमाडौंको तापक्रम झण्डै १ डिग्रीले घटेको छ।
हिजो न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको काठमाडौंको शनिबार बिहानको तापक्रम ३ दशमलव २ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार यो वर्ष काठमाडौंको न्यूनतम तापक्रम २ दशमलव ५ सम्म झरेको थियो । शनिबार दिउँसो र राति मौसम सफा हुने देखिएकाले न्यूनतम तापक्रम अझै घट्ने सम्भावना रहेको महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिए।
उनका अनुसार राति बादल लाग्दा जमिन चिसो हुन पाउँदैन र बिहानको तापक्रम बढ्छ। तर राति आकाश खुल्दा जमिन चिसो भएर बिहानको तापक्रम घट्छ।
तराईमा हुस्सु
अहिले तराईमा हुस्सु र कुहिरो लागेको मौसमविद्ले बताएका छन् ।
वर्षा र हिमपात गराउने प्रणाली नभएकाले आज दिउँसो देशका धेरै ठाउँको मौसम सफा हुने मौसमविद् पौडेलको भनाइ छ।
पहाडी भेगमा भने आशिंक बदली हुने सम्भावना रहेको पनि उनले जानकारी दिए।
वि.सं.२०७८ माघ १५ शनिवार ०७:१२

















